Madhes Khabar
स्वास्थ्य हेडलाइन

नारायणी अस्पतालमा बिग्रिएर थन्किएका ३ करोड बढीका मेसिनहरु आविष्कार केन्द्रले बनाई दियो

वीरगन्ज,२६पुसःवीरगन्जस्थित नारायणी अस्पतालमा बिग्रिएर वर्षौदेखि थन्किएका ३ करोड भन्दा बढी मूल्यका उपकरण र मेसिनहरु राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरिदिएको छ ।

अस्पताल प्रशासन र केन्द्रबीच अस्पतालमा बिग्रिएर थन्किएका मेसिन र उपकरणहरु केन्द्रका प्राविधिकहरुले मर्मत गरिदिने सम्झौता पुस ११ गते भएको थियो ।

उक्त सम्झौता अनुसार पुस ११ गतेदेखि नै काम थालेका केन्द्रका बायोमेडिकल ईन्जिनियर उमेश किरान्त नेतृत्वको ३ जना ईन्जिनियरहरुको टोलीले पहिलो चरणमा अस्पतालका ६० भन्दा बढी उपकरण र मेसिनहरु मर्मत गरेर सञ्चालनमा ल्याइ दिएको अस्पतालका मेडिकल सुपरिडेन्टेड (मेसु) चुमनलाल दासले जानकारी दिए ।

केन्द्रका बायोमेडिकल ईन्जिनियरहरुले पहिलो चरणमा एक हप्तासम्म अस्पतालमै खटेर ६० भन्दा बढी उपकरण मर्मत गरि दिएको र मर्मतपछि ती उपकरणहरु सञ्चालनमा ल्याइएको उनले बताए ।

मेसु दासका अनुसार, केन्द्रका बायोमेडिकल ईन्जिनियरहरुको टोलीले आइसियु वार्ड,एनआइसियु वार्ड, अप्रेशन थियटर,रेडियोलोजी,सिसियु वार्ड लगायत ६ वटा वार्डमा गरी ६० भन्दा बढी मेसिनहरु मर्मत गरिसिकेका छन् ।भेन्टिलेटेर, डायलोसिस मेसिन ,बेबी वार्मर,फोटो थेरापी मेसिन,एनेस्थेसिया, मेसिन,बबल सिप्याप,ल्याप्रोस्कोपी भिडियो प्रोसेसर, इलेक्ट्रोसर्जिकल युनिट,प्रोटेबल एक्सरे मेसिन लगायतका महङगा मेसिनहरु मर्मतसम्भार गरिएपछि अहिले ती उपकरणहरु प्रयोगमा ल्याइसकिएको दासले बताए ।

उनले भने,‘ केन्द्रका प्राविधिकहरुले करिब ३ करोड भन्दा बढीका मेसिन र उपकरणहरु बनाइ दिएका छन् । अझै केहि मेसिनहरु मर्मत गर्न बाँकी छन् । ती मेसिनहरुपनि विस्तारै मर्मत हुन्छ।’

बिग्रिएर लामोसमय देखि थन्किएका उपकरणहरु केन्द्रका प्राविधिकहरुले मर्मत गरेर प्रयोगमा ल्याएइपछि अस्पतालको उपचार सेवा प्रवाहमा धेरै सहजता भइरहेकोपनि मेसु दासले बताए । मधेसखबरसंग उनले भने,‘मेसिनहरु बिग्रिएर थन्किदा कतिपय रोगका उपचार सेवा प्रभावित बन्दै आएको थियो । तर अहिले ६० भन्दा बढी महंगा मेसिनहरु मर्मतसम्भार गरेर प्रयोगमा ल्याउँदा सेवा प्रवाहमा धेरै सहजता भइरहेको छ । बिरामीलाई बाहिर रेफर गनुपर्ने बाध्यता अहिले टरेको छ ।’

अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताले केन्द्र र अस्पतालबीचको सम्झौता आगामी असारसम्मका लागि भएकाले केन्द्रका प्राविधिकहरुले प्रत्येक महिना अस्पतालमा आएर मर्मतसम्भार गरिरहने जनाए ।मधेसखबरसंग उनले भने,‘अस्पतालमा बिग्रिएर थन्किएका अरु कुन कुन उपकरण थन्किएका छन् ? तीपनि खोजेर मर्मत गराउँदै जानेछौंं ।’

अस्पतालमा विगतको जस्तो कुनै मेसिन बिग्रिएपछि त्यसलाई थन्क्याएर त्यसको सट्टा अर्को नयाँ मेसिन खरिद गर्ने काम गरेर अस्पतालमाथि आर्थिक भार थोपर्ने काम अब नहुने उनले बताए ।उनले भने,‘बिग्रिएको मेसिन सम्भव भएसम्म त्यसैलाई मर्मतसम्भार प्रयोगमा ल्याइन्छ । यदि मर्मत हुनै नसक्ने खालका छन् भने मात्रै नयाँ खरिद हुन्छ ।तर बिग्रिने बित्तिक्कै अर्को नयाँ मेसिन खरिद गर्ने काम अब हुदैन।’

अस्पतालका उपकरण र मेसिनरहरु मर्मतका लागि ११ पुसमा अस्पताल प्रशासन र केन्द्रबीच भएको सम्झौतापत्रमा मेसिन र उपकरण मर्मतका लागि अस्पताल प्रशासनले केन्द्रलाई मासिक १ लाख ५० हजार रुपैयाँ शुल्क तिर्ने उल्लेख छ ।

उपकरण र मेसिनहरु मर्मतका क्रममा आवश्यक पर्ने स्पेयर पाट्र्सका सामान भने अस्पताल प्रशासनले नै बजारबाट खरिद गरेर केन्द्रलाई उपलब्ध गराउनु पर्नेपनि सम्झौतापत्रमा उल्लेख छ ।

 

Related posts

बारा २ काे मतगणना सुरु

MadhesKhabar

बारामा ८ हजार भन्दा बढी लागू औषधसहित राैतहटका एक काराेबारी पक्राउ

MadhesKhabar

मुख्यमन्त्री राउत , पर्सा १ को ख बाट सिफारिस

MadhesKhabar

Leave a Comment