
काठमाडौं,२५पुस:राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ८४ दिनपछि कास्की प्रहरीको हिरासतबाट मुक्त भएका छन् ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने बिहीबार बेलुकी रिहा भएका हुन् ।
लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंले यसअघि नै पक्राउ पूर्जी जारी गरिसकेको छ।
काठमाडौं महानगरपालिका-१४ मा सञ्चालित स्वर्णलक्ष्मी सहकारीबाट बचतकर्ताको अर्बौं रकम हिनामिना भएको प्रकरणमा लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो। प्रहरी स्रोतका अनुसार लामिछाने काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुनेछन्।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले गत कात्तिक २ गते राति काठमाडौंबाट पक्राउ गरेर पोखरा पुर्याएको थियो । भोलिपल्ट शनिबार परेकाले ४ गते आइतबार मात्र म्याद लिनका लागि कास्की जिल्ला अदालतमा प्रहरीले उपस्थित गराएको थियो ।
त्यसयता पटकपटक म्याद थप्दै हिरासतमा राखेर अनुसन्धान गरिएको थियो । लामो अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले सात पुसमा उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरी तीनवटा मुद्दा दर्ता गराएको थियो ।

