बुटवल,१६ पुस :नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादवले बुटवलको झुम्सा खोला खानेपानी आयोजना यथाशीघ्र निर्माण सम्पन्न गरेर बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।मंगलबार बुटवल खानेपानी सुधार आयोजना अन्तर्गत नेपाल खानेपानी संस्थानद्वरा निर्माण भइरहेको झुम्सा खोला खानेपानी आयोजनाको बाँध स्थलको स्थलगत निरीक्षण गर्दै मन्त्री यादवले यस्तो बताएका हुन्।
प्राविधिक टाेलीकासाथ स्थलगत निरीक्षणमा पुगेका मन्त्री यादवले भने, “झुम्सा खोला खानेपानी आयोजना यथाशिघ्र निर्माण सम्पन्न गरी यहाँका नागरिकहरुलाई शुद्ध अनि सफा पानी खुवाउने सरकारको लक्ष छ ।त्यही अनुसार काम भईरहेको छ ।बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ ।”
उक्त खानेपानी आयोजनाका विषयमा मंगलबार नै सरोकारवालसँग बिस्तृत छलफल तथा अन्तरक्रियासमेत गरेका मन्त्री यादवले खानेपानी सम्बन्धि नागरिकका समस्या समाधानका लागि आफु हर समय प्रतिबद्ध एवं कटिबद्ध रहेको समेत विश्वास दिलाए।बबुटवलमा दैनिक ३ करोड लिटर खानेपानीको माग रहेपनि अहिले २ करोड २५ लाख लिटर मात्रै पानी वितरण हुँदै आएको र झम्सा परियोजना पूरा भएमा बुटवल उपमहानगरपालिकाका सबै वडामा २४ सै घण्टा शुद्ध खानेपानी उपलब्ध हुने मन्त्री यादवले दाबी समेत गरे ।झुम्साबाट ३ करोड २० लाख लिटर पानी थप गरी करिब तीन लाख जनसंख्या लाभान्वित हुने गरी दैनिक करिब ५ करोड ९० लाख लिटर पानी उत्पादन तथा वितरण गर्ने लक्ष्य राखिएको कार्यक्रममा मन्त्री यादवले जानकारी गराए ।
करिब ६ अर्ब रुपैयाँको लागतमा झुम्सा खानेपानी आयोजना निर्माणको काम सुरु भएको तीन दशक पुग्न लागेको बताइएको छ ।आर्थिक वर्ष २०५२/०५३ मा पाल्पाको सिस्ने खोलाबाट बुटवलमा पानी ल्याउने योजनासहित झुम्सा खानेपानी आयोजना निर्माणको काम सुरु भएको नेपाल खानेपानी संस्थानले जनाएको छ।
सुरुमा केही वर्षको प्रयासका बाबजुद आयोजना असफल भएपछि फेरि २०६४ सालमा झुम्साभन्दा परबाट खानेपानी ल्याउने भन्दै काम सुरु गरिएको नेपाल खानेपानी संस्थानका निमित्त महाप्रबन्धक त्रिदिपकुमार श्रेष्ठले जानकारी दिए ।उनले भने, “त्यस अवधिमा खानेपानीको मुहानमा निर्माण गरिएको ट्याङ्की नै खोलाले बगाएपछि समस्या भयो । पछिल्लो समय २०७७ सालमा शिलान्यास गरिको झुम्सा खोला आयोजनाको काम अहिले सुचारु अवस्थामा रहेको छ ।”
झुम्सा खोलामा बाँध निर्माण गरी ट्रष्ट पुल बनाउने र पाइप बिछ्याएर पानी ल्याउने तथा दोस्रो चरण अन्तर्गत बुटवल–३ स्थित राम फेदीमा पानी प्रशोधन प्लान्ट बनाउने र भण्डारण ट्याङ्की बनाएर पानी वितरण गरिने याेजना रहेकाे खानेपानी संस्थानले जनाएको छ ।
मंगलबार सरोकारवालसँग गरिएको बिस्तृत छलफल तथा अन्तरक्रिया कार्यक्रममा लुम्बीनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरी, पाल्पाकाे तिनाउँ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, नेकपा (एमाले) का जिल्ला अध्यक्ष यज्ञ गैरे, सहसचिव बाबुराम पन्थीको सहभागिता रहेको थियो ।
कर्मचारीका तर्फबाट मन्त्रालयका सचिव प्रमिलादेबी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, मन्त्रालयका सहसचिव रमाकान्त दुवाडी, सहसचिव राजेन्द्र सापकोटा, खानेपानी संस्थानका अध्यक्ष गुणाकर भुसाल, निमित्त महाप्रवन्धक त्रिदिपकुमार श्रेष्ठ, इञ्जिनियरिङ महाशाखा प्रमुख निरन मर्हजन, प्रधान कार्यालयका प्रमुख बुद्धरत्न मर्हजन, मोहनदत्त भट्ट, आयोजना प्रमुख मन्दिप श्रेष्ठ लगायतकोपनि सहभागिता रहेको थियो ।

