Madhes Khabar
पर्यटन हेडलाइन

अंग्रेजी नयाँ वर्षमा पर्यटक भित्र्याउने तयारीमा पर्साका पालिकाहरू

प्रमोद यादव
पर्सा,१६पुसःअंग्रेजी नयाँ वर्ष २०२५ लाई स्वागत गर्ने क्रममा पर्सा जिल्लाको ठोरी गाउँपालिकामा सबैभन्दा बढी भारतीय तथा आन्तरिक पर्यटकहरूको चाप बढ्ने गरेको छ ।

ठोरी गाँउपालिकामा भारतका विभिन्न स्थानबाट नयाँ वर्ष मनाउन भारतीयहरू आउने गर्छन् । अंग्रेजी नयाँ वर्षका साथै ठोरीमा छठ, होलीलगायत पर्वका सार्वजनिक बिदाका दिनमा भारतीय पर्यटक तथा आन्तरिक पर्यटकहरूको अत्यधिक भीड हुने गर्छ । यसो त अहिले ठोरीमा आन्तरिक पर्यटकहरूको आवागमन बा¥है महिना बढेको छ ।

पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन, सर्लाही, जनकपुर, काठमाडौं लगायतका जिल्लाबाट आन्त्रिक पर्यटकहरु ठोरीमा रमाउन आउने गरेका छन् । ठोरीका विशेष गरी पाँच स्थानमा पर्यटकहरूको भीड हुन्छ । राईधारा, सीतागुफा, बागमोर्चामाई, शिवमन्दिर, घ्याङडाँडा, बुद्ध मन्दिरका साथै महादेव मन्दिर, कृष्ण मन्दिर लगायतका पर्यटकीय स्थानमा पर्यटकहरूको आवागमन बढेको छ । यसैक्रममा बुधबार परेको अंग्रेजी नयाँ वर्षमा यो ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्या बढ्ने अनुमान गरिएको छ । ठोरी गाँउपालिकाको सुवर्णपुरमा मधेस प्रदेशकै पहिलो होमस्टे छ । यसले पनि ठोरीमा पर्यटकहरूको आवागमन बढेको हो ।

ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले ठोरीका पाँचै स्थानमा पर्यटक भित्रयाउने गरी अंग्रेजी नयाँ वर्षमा पनि गाँउपालिकाले तयारी गरेको बताइन् । उनले धार्मिक पर्यटकसमेतलाई लक्षित गरेर धर्मशाला, खानेपानी, बिजुलीबत्ती, पिकनिक स्पटबारे पालिकाले विशेष ध्यान दिंदै आएको बताए । उनले राईधारामा सबैभन्दा बढी पर्यटकहरूको आगमन हुने हुँदा त्यहाँ दैनिक दुईजना हेरालुलाई राखेर सफाइ गर्दै आएको बताइन् ।

पर्सा जिल्लाको ठोरीबाहेक जीराभवानी, पर्सागढी, पटेर्वासुगौलीका धार्मिक स्थल तथा पिकनिक स्पटमापनि मानिसहरूको आवागमन हुने गरेको छ । पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने पटेर्वासुगौलीको दुग्धेश्वर महादेव मन्दिर रामभौरी भाठामा पनि वर्षेनी मेला लाग्छ । त्यहाँ मेला भर्नको लागि भारतीय पर्यटकका साथै आन्तरिक पर्यटकहरू ठूलो संख्यामा आउने गर्छन् । मेलाको बेलामा मात्र निकुञ्जले आवागमन खुला गर्ने गरेको छ ।

पटेर्वासुगौलीकै गादीमाई मन्दिरमा पनि पिकनिक गर्न मानिसहरू आउँछन् । पर्सागढी नगरपालिकाको कोइलाभारमाई मन्दिर र आमोदेवीमाईमापनि मानिसहरू पिकनिक र घुम्नको लागि आउने गर्छन् । जंगल क्षेत्रसँग जोडिएको हुँदा यी ठाउँमा आन्तरिक पर्यटकहरूको आवागमन बढी हुने गरेको छ । सार्वजनिक बिदाका र पर्वमा यो ठाउँमा भारतबाट पनि मानिसहरू पिकनिक गर्न आउँछन् । स्थानीय पालिकाले पिकनिक, वनभोज गर्नेहरूको लागि उचित व्यवस्थापन गर्न नसक्दा पर्यटकहरूको संख्या बढ्न नसकेको स्थानीय बताउँछन् ।

विशेषतः सरसफाइको मामिलामा जंगल क्षेत्रसँग जोडिएका यी स्थान कमजोर देखिएका छन् । पिकनिक स्पट देखि निकै टाढा बजार भएका कारण यहाँ आउने पर्यटकहरूलाई समस्या हुने गरेको छ । पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले कोइलाभारमाई र आमोदेवीमाईमा सरसफाइ, बिजुलीबत्ती, डस्टबिन, शौचालयको व्यवस्थापन भएको बताए । उनले केही व्यवस्थापकीय कमजोरीलाई समिति बनाएर सुधार गर्दै गएको बताए । उनले धार्मिक, ऐतिहासिक पर्यटकीय क्षेत्रलाई नगरपालिकाले स्थानीयको सहयोगमा व्यवस्थित गर्दै जाने बताए।

पटेर्वासुगौली गाँउपालिका अन्तर्गत पर्ने भुमरीमाई (बुलबुले ताल), शिव मन्दिर, काली मन्दिरलगायतका स्थानमापनि पिकनिक र वैवाहिक कार्यक्रम गर्नेगरी धर्मशाला, विवाहमण्डप बनाइएका छन् ।तर त्यहाँ शौचालय र सफाइको उचित व्यवस्थापन नहुँदा ती क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पनि खासै पर्न सकेका छैनन् । भुमरीमाई पर्यटकीय विकास समितिका अध्यक्षक कुमार बस्नेतले सफाइ, शौचालयलगायतको व्यवस्थापकीय काम आर्थिक समस्याका कारण कमजोर भएको र यो काममा पालिकाको ध्यानाकर्षण गराइएको बताए ।

Related posts

समाज रुपान्तरणका लागि युवा पुस्ता अगाडि बढ्नु पर्छ : सांसद यादव

MadhesKhabar

ठोरी–केरुङ लोकमार्ग निर्माणको चर्चा सेलाउँदा ठोरीबासी निरास

MadhesKhabar

वीरगन्जको अलौंमा कौडाको खालबाट चार जुवाडे पक्राउ

MadhesKhabar

Leave a Comment