वीरगन्ज,११पुसःनेपाल प्रिमियर लिग (एनपीएल) को विजेता बनेको जनकपुर बोल्ट्सका कप्तान आसिफ शेख र उपविजेता सुदूरपश्चिम रोयल्सका ब्याटर आरिफ शेखलाई गृहनगर वीरगन्जमा नगद राशीसहित सम्मानित गरिएको छ ।
वीरगन्ज महाननगरपालिका वडा नम्बर १२ मुर्ली निवासी शेख दाजुभाईलाई वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानुले जनही नगद ५१ हजार राशी प्रदान गर्दै सम्मानित गरेका हुन्। बिहीबार आफ्नै कार्यकक्षमा वडाध्यक्ष कानुले शेख दाजुभाईलाई खादा माला लगाएर नगद राशीसहित सम्मानित गरे ।
त्यसअवसरमा वडाध्यक्ष कानुले आफ्नै गृहनगरका स्थायीवासी शेख दाजुभाईले एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै आ–आफनो टिमलाई विजेता र उपविजेता बनाउनमा महत्वपूर्ण भूमीका निर्वाह गरकोमा गर्व लागेको बताए । राष्ट्रिय क्रिकेट टिमका सदस्यसमेत रहेका शेख दाजुभाईले एनपीएलमा गरेको उत्कृष्ट प्रदर्शनले वीरगन्जको नामलाई देश र विदेशमा अझ चिनाएको कानुले बताए ।
सहोदर दाजुभाई शेखद्वयलाई आगामी दिनमा क्रिकेट खेलमा अझ ठूलो सफलता मिलोस् भन्दै शुभाकामना दिदैं वडाध्यक्ष कानूले वीरगन्जलाई खेलकुदको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने स्थानीय खेलाडीहरुको प्रयासमा सदैव आफ्नो साथ रहनेपनि बताए ।
त्यसअवसरमा वडा सदस्यद्वय सन्तोश जैशी र प्रभु महतो, वडा कार्यालयका सचिव पवन प्रधान,घडिअर्वा स्पोट्र्स क्लबका अध्यक्ष सन्तोष कानु, पूर्वअध्यक्ष लखनलाल साह ,शम्भु साह कानु, दिलिप साह लगायतकाकोपनि उपस्थिती थियो ।

