वीरगन्ज,२५मंसिरःमंगलबार पर्सा जिल्ला अदालतस्थित सरकारी वकिलको कार्यालयबाट बयान सकाएर रास्वपा सभापति लमिछानेलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याउने क्रममा प्रहरी कार्यालय अगाडि रास्वपा र प्रहरीबीच घम्साघम्सी भएको छ ।
लामिछानेको समर्थनमा वीरगन्जको घण्टाघर चोकबाट मंगलबार दिउँसो प्रदर्शन सुरु गरेका रास्वपाका नेता–कार्यकर्ताहरु जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि पुग्नु अगावै प्रहरीले लामिछानेलाई सरकारी वकिल कार्यालयबाट बयान सकाएर प्रहरी कार्यालयमा ल्याइसकेको थियो ।
लामिछानेलाई प्रहरी कार्यालयमा पुर्याएको केहिबेरमै नाराबाजी गर्दै आएका रास्वपाका कार्यकर्ताहरु र प्रहरीबीच धकेलाधकेल भएको थियो । रास्वपाका कार्यकर्ताहरु प्रहरीको बेरियर छिचोलेर प्रहरी कार्यालय तर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियोृ । त्यसक्रममा दुवै पक्षबीच केहिबेरसम्म घम्साघम्सी नै भएको थियो ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि वीरगन्ज ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसंग मंगलबार पर्सा जिल्ला अदालतस्थित सरकारी वकिलको कार्यालयमा झण्डै ४ घण्टा बयान लिइएको छ ।
मंगलबार बिहान ९.१५ बजे जिल्ला प्रहरी कार्यालय पर्साबाट सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई प्रहरीले लगेको थियो ।त्यहाँ सरकारी वकिलको कार्यालयका मुख्य न्याधिवक्ता भोलानाथ निरौलाले लामिछानेसंग झण्डै ४ घण्टा बयान लिएका हुन्।मंगलबार बयानका क्रममा लामिछानेसंग १७ वटा प्रश्न सोधिएको प्रहरी श्रोतले जनाएको छ ।त्यसपछि लामिछानेलाई दिउँसो १.३० बजे सरकारी वकिलको कार्यालयबाट फेरि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर राखिएको छ ।
पर्साको सरकारी वकिलको कार्यालयमा मंगलबार लामिछानेसंग करिब ४ घण्टा बयान लिइएको र अब यसपछि उनिसंग लिखित बयान हुने मुख्य न्याधिवक्ता निरौलालले जानकारी दिए ।
लामिछानेलाई मंगलबारपनि प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सामा राख्ने र बुधबार मात्रै पोखरा फिर्ता पठाउने जानकारी आँफुहरुले पाएको रास्वपाका जिल्ला संयोजक हरि पन्तले जानकारी गराए ।
सहकारीको रकम हिनामिना प्रकरणमा कार्तिक २ गतेदखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकमपनि हिनामिना गरेको आरोपमाा अनुसन्धानका लागि सोमबार साँझ वीरगन्ज ल्याइएको थियो ।

