Madhes Khabar
स्थानिय हेडलाइन

सहकारी ठगीकाे अनुसन्धानका लागि रवि लामिछानेलाई ल्याइयाे वीरगन्ज

वीरगन्ज,२४मंसिर:सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई साेमबार वीरगन्ज ल्याइएकाे छ।

वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको विषयमा अनुसन्धान गर्न पूर्व गृहमन्त्रीसमेत रहेकम लामिछानेलाई साेमबार वीरगन्ज ल्याइएकाे हाे।

सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई गत बुधबार पर्सा जिल्ला अदालतले अनुमति दिएको थियाे । लामिछाने प्रबन्ध निर्देशक रहेकै बेला गोर्खा मिडिया नेटवर्क प्रालिमा सानाे पाइला सहकारीबाट करिब ८ करोड रुपैयाँ गएको थियो ।

सहकारीको रकम हिनामिना प्रकरणमा कार्तिक २ गतेदखि जिल्ला प्रहरी कार्यालय कास्कीकाे हिरासतमा रहेका लामिछानेलाई साेमबार हवाई मार्गबाट पाेखराबाट काठमाडौं लगेर त्यहाबाट पनि हवाई मार्ग हुँदै बाराकाे सिमरा ल्याएर सिमराबाट स्थलमार्ग हुँदै साेमबार साँझ वीरगन्जस्थित जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशाेर लम्सालले बताए ।उनलाई अहिले जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको र बयानका लागि सरकारी वकिलको कार्यालयमा लगिने लम्सालले बताए ।उनले भने,`भ्याइयाे भने आजै लामिछानेलाई बयानका लागि सरकारी वकिलको कार्यालयमा लगिनेछ।भ्याइएन भने भाेलि लगिनेछ।´

सानाे पाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमै पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई भने साेमबार बिहानै पाेखराबाट स्थलमार्ग हुँदै वीरगन्ज ल्याइएको लम्सालले मधेसखबरलाई बताए ।

दुवै जनालाई आइतबार बेलुका पोखराबाट गाडीको बाटो हुँदै साेमबार बिहान वीरगन्ज ल्याइएको हाे।

जाेशी र खनालसंग सरकारी वकिल र प्रहरी अनुसन्धानका अधिकृतले बयान लिने काम भइरहेको लम्सालले बताए ।

उनिहरुको बयान लिने काम सकिएपछि उनिहरुलाई पोखरा फर्काइने लम्सालले जानकारी दिए ।

सहकारीको बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडियाको खातामा सानो पाइलाबाट सात पटक गरी आठ करोड ५८ लाख ४४ हजार रुपैयाँ जम्मा गरिएको थियो । २०७८ साउन १९ मा एकै दिन चार करोड ९१ लाख ९४ हजार रुपैयाँ सारिएको थियो । अरू रकम २०७८ वैशाख ५ देखि २०७९ साउन १९ सम्ममा सारिएको हो । संसदीय छानबिन समितिलाई दिएको बयानअनुसार लामिछाने २०७७ माघ १ देखि ०७९ असार १ सम्म गोर्खा मिडियामा प्रबन्धक निर्देशक थिए ।

एक वर्षअगाडि सानो पाइला सहकारीका १ सय ७९ बचतकर्ताले संस्थाका सञ्चालक समिति, लेखा समिति तथा कर्मचारीविरुद्ध उजुरी दिएका थिए । त्यतिबेला प्रहरीले पर्याप्त अनुसन्धानै नगरी हतारमा मुद्दा अघि बढाएको बचतकर्ताको गुनासो छ । प्रहरी अनुसन्धानपछि पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरिएकामा सानो पाइला सहकारीकी पूर्वउपाध्यक्ष नेहा पौडेल गत साउन २१ मा एक करोड १० लाख रुपैयाँ धरौटीमा रिहा भइन् । सहकारीका कर्मचारी राधेचन्द्र यादव पनि ३५ लाख रुपैयाँ धरौटीमा रिहा भए । प्रहरीका अनुसार सानो पाइला सहकारीका अध्यक्ष अनन्तबाबु राई, सचिव देवेन्द्रबाबु राई, प्रबन्धक असरफ अली सिद्धिकी, संरक्षक गीतेन्द्र बाबु (जीबी) राईलगायत ११ जना फरार छन् । कोषाध्यक्ष कुमार रम्तेल भने पुर्पक्षका लागि थुनामा छन् ।

सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको थुनामा कार्तिक २ गतेदेखि लामिछानेलाई अनुसन्धानका लागि यसअघि रुपन्देही ,काठमाडौं र चितवनका जिल्ला प्रहरी कार्यालयमा लगिएको थियाे।

Related posts

वीरगन्जमा मधेस आन्दोलनमा ढालिएको गिरिजा कोइरालाको शालीक फेरि ठडियो

MadhesKhabar

सन्त नेता स्व. भट्टराईकाे जन्म-जयन्तीमा वीरगन्जमा दिप प्रज्वलन

MadhesKhabar

वीरगन्ज महानगरको राजश्व संकलनमा सुधार, ९ महिनामा करिब ३ करोड बढी राजश्व संकलन

MadhesKhabar

Leave a Comment