Madhes Khabar
राष्ट्रिय हेडलाइन

वीरगन्जकाे एक मतदान केन्द्र : मतदान अधिकृत सहित सुरक्षाकर्मी सबै महिला

मधेसखबर
वीरगन्ज ,०३ मंसिर : वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित थारु छात्राबास मतदान केन्द्र महिलाहरुले सञ्चालन गर्ने भएका छन् । यहाँस्थित क,ख र ग गरी ३ वटा मतदान केन्द्रका मतदान अधिकृत महिला छन् । यस बाहेक २१ सहायक कर्मचारी पनि महिला नै छन् । यो ‘विशेष मतदान केन्द्र’ का सुरक्षा कमान्डर पनि महिला सुरक्षाकर्मी नै छन् ।

मतदान अधिकृतहरुमा जिल्ला अदालतका शाखा अधिकृतहरु क्रमश: अन्जु परियार, जमुना धिताल र रितिका शर्मा रहेका छन् । शर्माले आफूहरुको सहायकको रुपमा खटिएका कर्मचारीहरु पनि महिला रहेको तथा सुरक्षा अधिकृत पनि महिला नै रहेको बताइन् । ‘२१ सहायक कर्मचारी महिला नै छन्, सुरक्षा व्यवस्थाको जिम्मेवारी नेपाल प्रहरीकी सहायक निरीक्षक श्रीयंका बस्नेतले लिनु भएको छ,’ शर्माले भनिन्, ‘सुरक्षाकर्मीमा पनि आधाजसो महिला सुरक्षाकर्मी नै छन् ।’

आफूले यसअघि पनि यसै वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी निर्वाह गरी सकेकाले यसपटक पनि समस्या नहुने उनले बताइन् । यो केन्द्रमा कुल २ हजार २ सय ५७ मतदाता रहेको उनले जानकारी दिइन् । ‘हामी सबै अनुभवी छौं,’ उनले भनिन् ‘महिलाले सञ्चालन गरेका केन्द्र भएकाले सरोकारवाला सबैले सहयोग गरेको हुँदा खासै समस्या भएको छैन ।’

जिल्लामा आइतबार हुने निर्वाचनका लागि ४५ महिला मतदान अधिकृत खटिएको जिल्लाका मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए । ‘यस पटक निर्वाचन अधिकृत मात्रै ४५ महिला छन्,’ उनले भने, ‘यस बाहेक सहायक कर्मचारीमा महिला कर्मचारी धेरै खटिएका छन् ।’

जिल्लामा निर्वाचनका लागि करिब ११ हजार जनशक्ति खटिएका छन् । तिनमा ४ हजार ६ सय सुरक्षाकर्मी, २ हजार म्यादी प्रहरी, ४ हजार ५ सय कर्मचारी र स्वयंसेवक छन् । ३ लाख ४५ हजार मतदाता रहेको जिल्लामा १ सय ६७ स्थायी र २ अस्थायी गरी १ सय ६९ मतदानस्थल छन् । ४ सय १५ स्थायी र २ अस्थायी गरी ४ सय १७ मतदान केन्द्र छन् ।साभार: कान्तिपुर

Related posts

एसईईमा पर्साबाट ४ जिपिए ल्याउन सफल सरकारी विद्यालयका विद्यार्थीसहित ८ जना सम्मानित

MadhesKhabar

अयोध्याको राम मन्दिरमा भयो रामललाकाे प्राण प्रतिष्ठा

MadhesKhabar

मधेस प्रदेशकै उत्कृष्ट महिला पत्रकारका रुपमा वीरगन्जकी पत्रकार माधुरी महतो सम्मानित

MadhesKhabar

Leave a Comment