Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज मेनरोड विस्तारको मुद्दामा सर्वोच्च अदालतमा पेसी चढेर भयो सुनुवाई, अब के हुन्छ ?

वीरगन्ज,१८मंसिरः सर्वोच्च अदालतमा पटक पटक पेसी सर्दै आएको वीरगन्जको मुख्य सडक(मेनरोड) विस्तारको मुद्धामा मंगलबार  पेसी चढेर सुनुवाईपनि भएको छ ।

त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको गण्डक चोकदेखि पावर हाउस,घण्टाघर,आदर्शनगर, रजतजयन्ति चोक, शंकराचार्यद्वार हुँदै मितेरीपुल सम्मको मेनरोड २५/२५ मिटर विस्तार गर्ने सडक विभागको निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धाको मंगलबार २६ औं पटकको पेसीमा सुनुवाई भएको हो ।  विक्रम संवत २०६९ सालमै सडक विभागले मेनरोड विस्तार गर्ने निर्णय गरेको भएपनि त्यसक्षेत्रमा पर्ने धरधनीहरुले उक्त निर्णय विरुद्ध अदालतमा मुद्धा हालेका थिए ।

सर्वोच्च अदालतमा पटक पटक पेसी सर्दै आएको उक्त मुद्धामा लामो समयपछि मंगलबार सुनुवाई भएपनि मेनरोड विस्तार बारे सर्वोच्चले कुनै ठोस फैसला भने दिएन । मंगलबार सर्वोच्च अदालतका न्यायधिशद्वय तिलप्रसाद श्रेष्ठ र अब्दुल अजीज मुसलमानको संयुक्त इजलाशले वीरगन्जको मेनरोड विस्तारबारे विचाराधिन मुद्धामा सुनुवाई गर्दै त्रिभुवन राजपथको एलाइमेन्ट परिवर्तबारे नेपालको सरकारको मन्त्रिपरिषदले विगतमा गरेको निर्णय प्रगति बारे लिखित जानकारी गराउन भौतिक पुर्वाधार मन्त्रालयलाई पत्र लेख्ने आदेशमात्रै गरेको वीरगन्ज महानगरपालिकाका अधिवक्ता धनबहादुर थापाले जानकारी दिए ।

काठमाडौंमै रहेका अधिवक्ता थापाले टेलिफोन सम्पर्कमा मधेसखबरलाई भने,‘आज(मंगलबार) मेनरोड विस्तार बारेको विचाराधिन मुद्धामा सर्वोच्चमा सुनुवाई भयो । सुनुवाईपछि माननिय न्यायधिशद्वयको इजलाशले हाल त्रिभुवन राजपथ कायम रहेको गण्डक चोकदेखि घण्टाघरहुदैं मितेरी पुलसम्मको सडकको एलाइमेन्ट चेन्ज गरेर परवानीपुरदेखि आइसिपीसम्मको सडकलाई त्रिभुवन राजपथ कायम गर्ने मन्त्रिपरिषदको निर्णयको प्रगति के छ ? त्यसबारे भौतिक पूर्वाधार मन्त्रालयलाई पत्र लेखेर सोध्ने आदेश मात्रै गरेको छ।’
मन्त्रालयबाट त्यसबारे लिखित जवाफ आएपछिमात्रै मेनरोड विस्तार बारे विचाराधिन मुद्धामा सर्वोच्चले फैसला गर्ने सम्भावना रहेको अधिवक्ता थापाले मधेसखबरलाई बताए । २०७२ सालमा मन्त्रिपरिषद बैठकले त्रिभुवन राजपथको एलाइमेन्ट परिवर्तन गरेर परवानीपुरदेखि आइसिपीसम्मको ६ लेनको व्यपारिक राजमार्गलाई त्रिभुवन राजपथ कायम गर्ने निर्णय गरेको थियो ।
२०६९ सालमा तत्कालीन नेपाल सरकारको निर्णय अनुसार सडक विभागले वीरगन्जको मेनरोड विस्तारका लागि सडकको मध्यभागबाट दायाँ–बाँया दुवै तर्फ २५/२५ मिटरभित्र पर्ने भौतिक संरचना खाली गर्न सूचना निकालेपछि त्यस क्षेत्रमा पर्ने करिब १ हजार दूई सय घरधनीले सरकारको उक्त निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट हालेको र अदालतले यसबारे टुङगो नलगाइ दिएका कारण १२ वर्षदेखि सडक विस्तार हुन नसकेको हो ।

 

सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय हेटौंडा र व्यापारिक मार्ग विस्तार आयोजना कार्यालयले २०७६ सालमा छठपछि नै वीरगन्जको मेनरोड विस्तार गर्ने तयारी गरको थियो । २०७६ भदौमा निकालेको १५ दिने सूचनाको म्याद सकिएपछि फेरि म्याद दिएर आयोजना कार्यालयले घरधनीलाई आफ्नो घर आफैं भत्काउन आग्रह गरेको थियो । सडक विस्तार आयोजनाले एक चरण नापीको कामसमेत सम्पन्न गरिसकेको अवस्था छ ।

त्यसअघि सडक विभागले २०६९ साल भदौ १५ गते, सडक डिभिजन कार्यालय हेटौंडाले २०६९ फागुन ११ गते र २९ गते, २०७१ फागुन २ गते तथा २०७३ पुष १८ गते पनि १५ दिने सूचना जारी गरी सडक क्षेत्रमा पर्ने घर टहरा भत्काउन आग्रह गरेको थियो ।

तर सडकको दायाँबायाँका घरधनीहरुले जमिनको लालपूर्जा भएको, स्थानीय तहबाट घरको नक्सा पास गरेको, राज्यलाई विभिन्न कर तिरिरहेको घरजग्गा सित्तैमा लिन नपाइने, जग्गा तथा संरचना नियमाअनुसार अधिग्रहण गरेर वर्तमान मूल्यअनुसार मूआव्जा वितरण गरेर मात्रै सडक विस्तार गर्नुपर्ने बताउँदै आएका छन् । लक्ष्मण साह रौनियारसमेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, सडक डिभिजन कार्यालय हेटौंडा, व्यापारिक मार्ग विस्तार आयोजना कार्यालय वीरगञ्ज पथलैया, जिल्ला प्रशासन कार्यालय पर्सालगायतलाई विपक्षी बनाएर ७ कार्तिक २०७६ मा रिट दर्ता गराएका थिए ।

त्यसअघि ११ मंसिर २०७५ मा विक्रम गुरुङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० वटा सरकारी कार्यालयलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए ।

Related posts

जसपाका केन्द्रीय सदस्य सिंहसहित २५० नेताकार्यकर्ता कांग्रेसमा प्रवेश

MadhesKhabar

भारतबाट लागू औषधको कारोबार गर्ने गिरोह वीरगन्जमा पक्राउ, ७६१७० पिस ट्रामाडोलपनि बरामद

MadhesKhabar

वीरगन्जका सरकारी विद्यालयहरुले विद्यार्थीलाई दिवा खाजा वितरणमा मनलाग्दी गरेको खुलासा

MadhesKhabar

Leave a Comment