काठमाडौँ,१७मंसिर:कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी भएका छन् । आइतबार भएको स्थानीय तहको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार डंगोलले ५ हजार ३ सय ३४ मत ल्याई विजयी भएका हुन् । उनी ७ सय ७९ मतान्तरले विजयी भएका छन् ।
डंगोलका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत ल्याए । त्यस्तै नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले ४ हजार ३ सय ३७ मत ल्याए ।
यसअघि २०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको मृगौलासम्बन्धी रोगबाट गत साउन १० गते निधन भएपछि कीर्तिपुरमा उपचुनाव भएको हो ।
२०५४ सालमा नगरपालिका बनेको कीर्तिपुरमा २०७९ काे चुनावमा पहिलो पटक कांग्रेसका नकर्मी मेयरमा निर्वाचित भएका थिए । कीर्तिपुरको मेयर तथा उपमेयर मात्रै नभएर १० मध्ये ९ वडाध्यक्ष कांग्रेसका उम्मेदवारहरू विजयी भएका थिए ।
त्यस्तै आइतबार नै भएको उपनिर्वाचनमा कीर्तिपुर-१ र कीर्तिपुर-४ मा कांग्रेसकै इच्छाकुमार महर्जन र राजेन्द्र बानियाँ विजयी भएका छन् ।

