
रौतहट,६मंसिरःरौतहटमा बुधबार राति भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अरु दुई जना घाइतेपनि भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, चन्द्रनिगाहपुर–गौर सडक खण्डको चन्द्रपुर–९ मा बीआर ०५ पीए ६२५६ नम्बरको भारतीय स्कारपियोले लु१२प २९४१ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलका चालक गुजरा नगरपालिका–५ इसलामपुरका २४ वर्षीय शेख जमालुदिनको मृत्यु भएको छ ।उनको हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा पाछडि बसेका घाइते मजिद मुसलमान गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं रेफर गरिएको प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए ।प्रहरीले गढीमाई नगरपालिका–४ घर भएका स्कोरपियो चालक कृष्णनन्दन यादवलाई नियन्त्रणमा लिएको छ ।
त्यही स्थानमा प्रदेश २–०३–०१२प ८७६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ मोटरसाइकल चालक गुजरा–५ का २० वर्षीय समदुल अन्सारी र पछाडि बसेका सेख इसराद घाइते भएका छन् ।
यस्तै चन्द्रपुर नगरपालिका–६ तल्लो बजार स्थित चन्द्रनिगाहपुर–गौर सडक खण्डमा बा.३४प.४२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री देवाही गोनाही–३ का १६ वर्षीय निकिन्द्रकुमार पटेल घाइते भएका छन् । उनको निधारमा चोट लागेको छ । पटेललाई ठक्कर दिएपछि अनियन्त्रित भई विद्युत्को पोलमा मोटरसाइकल ठोक्किएर चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । मोटरसाइकल चालकको सनाखत हुन सकेको छैन । मोटरसाइकल चालकको चन्द्रपुर अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।साभारःईकान्तिपुर

