काठमाडौं,१२कार्तिकःसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आगामी केही महिनाभित्रै सबै पालिकाहरूमा कर्मचारी पठाइसक्ने बताएका छन् ।
मन्त्रालयमा सञ्चारकर्मीहरुसंगको साक्षत्कारमा मन्त्री गुप्ताले आफूले मन्त्रालयको नेतृत्व सम्हाले यता अधिकांश पालिकामा कर्मचारी व्यवस्थापन गरिसकेको र बाँकी रहेका केही ठाउँमा पनि अब चाँडै कर्मचारी व्यवस्थापन हुने बताए।आफू मन्त्रालयमा आउँदा पूरै खाली रहेको जिल्ला समन्वय समितिमा आवश्यक कर्मचारी र ५७ वटा जिल्लामा प्राविधिक जनशक्ति (इन्जिनीयर) समेत पठाइसकेको जानकारी उनले गराए ।उनले भने,‘ केही खाली रहेका नगर÷गाउँपालिकाहरूमापनि अब चाँडै कर्मचारी व्यवस्थापन गरिन्छ।’
करिब एक दशकदेखि एकै ठाउँमा रहेर काम गरिरहेका एक हजार २५८ जना कर्मचारी र अन्य कर्मचारीहरूलाई विभिन्न ठाउँमा सरुवा गरेर मन्त्रालयले प्रशासनिक क्षेत्रको कामलाई व्यवस्थित र चुस्तदुरुस्त बनाउने प्रयत्न गरेकोपनि मन्त्री गुप्ताको भनाइ छ । ‘नौ–नौ दश÷दश वर्षदेखि एकै ठाउँमा रहेर काम गरिरहनुभएका एक हजार २५८ जना कर्मचारीलाई एकैदिन सरुवा गरी विभिन्न ठाउँमा पठाएका छौँ,’ मन्त्री गुप्ताले भने, ‘हामी राम्रो तालमेल मिलाएर काम गरिरहेका छौँ । भर्खरै आउनुभएका ३८औँ ब्याचका अफिसर/अधिकृतहरूलाई पनि पालिकामै पठाएका छौँ ।’ पालिकाहरूमा कर्मचारी छैनन् र निमित्तको भरमा चलिरहेका छन् भन्ने दिनको अन्त्य गर्न आफूले भरपूर पहलकदमी लिइरहेको उनले बताए।
एकैचोटी ठूलो संख्यामा कर्मचारी सरुवा गर्दा विभिन्न तहबाट उच्च दबाब आफूले झेलेको बताउँदै उनले भने,‘ म बोल्ने भन्दापनि काम गरेर देखाउने इच्छा बोकेर मन्त्रालयमा आएको हुँ । कामको सन्दर्भमा आउने यस्ता दबाबको अगाडि झुक्ने बानी मेरो छैन र झुक्दिनँ पनि ।’