वीरगन्ज,११०कार्तिकःपर्साका विभिन्न पालिकाका वडामा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित भएका पाँच जना वडा सदस्यहरु जसपा नेपाल परित्याग गरी अशोक राई नेतृत्वको जसपामा प्रवेश गरेका छन् ।
पर्सागढी नगरपालिका वडा नम्बर ४ मा जसपा नेपालबाट निर्वाचत निर्वाचित वडा सदस्यहरू राजकुमार गुरुङ, रुस्तम हवारी , लालसाह देवी र तेतरी देवी तथा वीरगन्ज महानगरपालिका वडा नम्बर ११ मा जसपा नेपालबाटै निर्वाचित वडा सदस्य जगन महतोपनि जसपामा प्रवेश गरेका हुन् ।
यस्तै जसपा नेपालको विन्दवासिनी गाउँपालिका कमिटीका अध्यक्ष रमेश साह तेलीको नेतृत्वमा ४० सदस्यीय गाउँपालिका कमिटीपनि जसपामा समाहित भएको छ ।
शनिबार वीरगन्जमा जसपा पर्साले दिपावली तथा छठ पर्वको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा संघीय सरकारका खानेपानी मन्त्री तथा जसपाका केन्द्रिय उपमहासचिव प्रदीप यादव र वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरे ।
कार्यक्रममा बोल्दै खानेपानी मन्त्री यादवले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको हुकुमीशैलीले उक्त पार्टीमा रहेर राजनीति गर्न नेताकार्यकर्र्तालाई निक्कै सकस रहेकाले जसपा नेपाल छाडेर जसपामा प्रवेश गर्नेहरुको लहर जारी रहेको बताए । नवप्रवेशीहरुको जसपा प्रवेशले पार्टी अझ मजबुत हुदैं गएको भन्दै उनले भने,‘ हामी सबै मिलेर जनताको हकहित र समृद्धिका लागि समर्पित भावनासाथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्छौँ ।पार्टीको यो बृहत विस्तार हाम्रो सामूहिक प्रयास र जनआकांक्षप्रति थप जिम्मेवारीको संकेत हो ।’
जसपाका पर्सा जिल्ला अध्यक्ष सिंगाासन साह कलवारको अध्यक्षता तथा मन्त्री यादवको प्रमुख आतिथ्यता एंव वीरगन्जका मेयर सिंहको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम आयोजना गरिएको हो।

