वीरगन्ज,३०असाेज:नेपालकाे महिलावादी ईतिहास सम्बन्धि फाेटाे प्रदर्शनी वीरगन्जमा यहि कार्तिक २ देखि ४ गतेसम्म आयाेजना हुदैंछ।नेपाल पिक्चर लाइब्रेरीको “सार्वजनिक जीवनमा महिला: महिलावादी स्मृतिको एक पहल” विषयक देशव्यापी फाेटाे प्रदर्शनी वीरगन्जमा हुन लागेकाे हाे।
बुधबार वीरगन्जमा पत्रकार सम्मेलन आयाेजना गरेर यसबारेमा जानकारी गराइएको हाे।देशव्यापी फाेटाे प्रदर्शनी पहिलाे चरणमा वीरगन्जको वीर्तास्थित त्रीजुद्ध मावि परिसरमा ३ दिनसम्म चल्नेछ।
फाेटाे प्रदर्शनी कार्यक्रममा विभिन्न कार्यशाला, छलफल र सामुदायिक संवादहरू पनि आयोजना गरिनेछ।फाेटाे प्रदर्शनीमा प्रवेश निशुल्क रहने आयाेजकले जनाएको छ।
यस प्रदर्शनीको मुख्य उद्देश्य दृश्य अभिलेख, मौखिक इतिहास र सामुदायिक संलग्नता मार्फत नेपालको महिलावादी इतिहासलाई संरक्षण र प्रसार गर्नु रहेकाे भन्दै आयाेजकले यो प्रदर्शनीले नेपालका महिलाहरूको सार्वजनिक जीवनमा रहेको योगदानलाई उजागर गर्दै नेपाली समाजमा उनीहरूको ऐतिहासिक महत्त्वलाई स्थापित गर्ने रहेकाे बताएको छ।साथै ग्रामीण र शहरी क्षेत्रका महिला इतिहासको अभिलेखलाई पहुँचयोग्य र सान्दर्भिक बनाउँदै ऐक्यबद्धता निर्माण गर्न र महिलाहरूको योगदानलाई संकलन र सम्झना गर्न साझा मञ्च प्रदान गर्ने पनि यसकाे उदेश्य रहेकाे आयाेजककाे भनाई छ।
पहिलाे चरणमै वीरगन्जपछि जनकपुरमा कार्तिक ८ देखि १० गतेसम्म प्रदर्शनी आयाेजना गरिनेछ।त्यसपछि दोस्रो चरणमा बर्दिया र नेपालगन्जमा,तेस्रो चरणमा पोखरा, बागलुङ र पाल्पामा,चौथो चरणमा दाङ र रोल्पा,पाँचौं चरणमा इलाम र झापा,छैटौं चरणमा विराटनगर, धरान, र भोजपुर तथा सातौं चरणमा बुटवल, भरतपुर र हेटौंडामा फाेटाे प्रदर्शनी आयाेजना गरिने आयाेजकले जनाएको छ।

