
बारा,२०असोजःमधेस प्रदेशका भूमी, व्यवस्था तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले जनताले दुःख गरेर बचत गरेको रकम अपचलन गर्ने जो कसैलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।
बाराको सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै मन्त्री सिंहले राज्यको जुनसुकै तहमा रहेका व्यक्ति भएपनि सहकारी ठगीमा संलग्न रहेको प्रमाणित भए कारवाही गर्नुपर्ने बताए ।
‘जनताले दुःख गरेर जम्मा गरेको अपचलन ठगी गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ । त्यस्ता व्यक्तिलाई छोड्नु हुँदैन’ मन्त्री सिंहले भने ‘ती मान्छे मन्त्री भएका व्यक्ति हुन् वा राजनीतिक दलको माथिल्लो ओहदाका व्यक्ति हुन् । कानुनी दायरामा ल्याउनैपर्छ ।’
सहकारी ठगीका घटनाले यस क्षेत्रमाथि जनविश्वास घट्ने खतरा रहेको भन्दै मन्त्री सिंहले छुट पाउने गरी कसैको देवत्वकरण नगर्न समेत आग्रह गरे । मन्त्री सिंहले सहकारी संस्थालाई व्यवस्थित ढंगले संचालन गर्न आवश्यक रहेको पनि बताए ।
प्रदेश भित्रका सहकारी संस्थालाई नियमन, व्यवस्थित गर्नका लागि प्रदेशमा ऐन निर्माण भएको बताउँदै मन्त्री सिंहले कर्मचारी व्यवस्थापन गरेर अन्य काम अघि बढाईने बताए । उनले संघीय सरकारले उपलब्ध गराएको आठ सय सहकारी संख्यामध्ये दुई सय ५० मात्रै सम्पर्कमा आएको बताउँदै अब सम्पर्कमा नआउने सहकारीलाई खारेज गरेर अघि बढ्ने बताए ।साभारःईशीलालेख

