वीरगन्ज,१६असार:स्वतन्त्र मानव अधिकार समाजले वीरगन्ज महानगरपालिकाका ६ वटा सामुदायिक विद्यालयमा स्थलगत अनुगमन गर्दा ती विद्यालयमा भेटिएका त्रुटि र अनियमितता बारे जिल्ला प्रशासन कार्यालय र वीरगन्ज महानगरपालिकाकाे ध्यानाकर्षण गराएकाे छ।
समाजकाे टाेलीले तीन दिन लगाएर ६ वटा सामुदायिक विद्यालयहरुमा स्थलगत अनुगमन गर्ने क्रममा विभिन्न त्रुटि र अनियमितता भेटिएको थियाे ।समाजकाे टाेलीले वीरगन्ज-७ काे माईस्थान विद्यापिठ मावि र माईस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालय,वीरगन्ज-२६ काे नेपाल राष्ट्रिय प्रावि अठराहा र नेपाल राष्ट्रिय आधारभूत विद्यालय सुगाली , वीरगन्ज-३ काे महानगरपालिका आधारभूत विद्यालय र वीरगन्ज-१० काे बाल मन्दिर आधारभूत विद्यालय अनुगमन गरेकाे हाे।
अनुगमनका क्रममा माईस्थान विद्यापिठ माविमा विद्यार्थीहरूलाई बाहिरी पसलबाट मगाएर दिवा खाजा वितरण गरेकाे पाइएकाे तथा विद्यार्थीले पिउने पानीकाे श्राेत फाेहाेर अवस्थामा भेटिएको र माथिल्लो तल्लाकाे कक्षन काेठामा पानी चुहिने गरेकाे अवस्था रहेकाे समाजले जनाएको छ।
यस्तै माईस्थान बाल विद्या मन्दिरमा दिवा खाजाका रुपमा खुवाइने नास्ता पकाउने ठाउँ नै फाेहाेर रहेकाे पाइएको समाजले जनाएको छ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालय अठराहामा शिक्षक र विद्यार्थीका लागि आवश्यक फर्निचरकाे कमी रहेकाे ,कक्षा काेठामा पुराना पंखा प्रयाेगविहन रहेकाे,खरिद गरिएको नयाँ पंखा दराजभित्र राखिएको अवस्था रहेकाे समाजका अध्यक्ष कृष्णकुमार खनालले बताए ।
अनुगमनका क्रममा नेपाल राष्ट्रिय आधारभूत विद्यालय सुगाैलीमा भने दिवा खाजा वितरण गत असार महिनादेखि नै राेकिएकाे भेटिएकाे खनालले बताए ।
अनुगमन पश्चात विद्यालय प्रशासनलाई त्यसबारेमा सचेत गराइएको भन्दै खनालले अनुगमनकाे लिखित प्रतिवेदन महानगरपालिकाकाे कार्यालय र जिल्ला प्रशासन कार्यालय पर्सामा बुझाइएको खनालले जानकारी दिए।
खनालकै नेतृत्वमा गरिएको अनुगमन टाेलीमा उपाध्यक्ष नन्दिकिशोर यादव, महासचिव दिपक साह कानु, कोषाध्यक्ष उर्मिला कुश्वाहा, सहकोषाध्यक्ष रामभरोस यादव लगायतकोपनि सहभागिता थियो।

