Madhes Khabar
समाचार

आज बेलुकादेखि वर्षा कम हुँदै जाने पूर्वानुमान

काठमाडौं,१२असोजः तीन दिनदेखि परिरहेको अविरल वर्षा आज (शनिबार) बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ ।

बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर आज बेलुकादेखि विस्तारै कम हुँदै जाने जानकारी दिए ।

‘आज बेलुकादेखि नै वर्षा केही मथ्थर हुन सुरु हुन्छ, तर ठ्याक्कै रोकिने होइन, भोलिसम्मै रहन सक्छ, जुन ‘इन्टेन्सिटी’मा वर्षा भइरहेको छ त्यो अब हट्दै जान्छ’, उनले भने । भोलिदेखि अहिलेको मौसमी प्रणाली कमजोर हुँदै जाने उनको भनाइ छ ।

‘बादल फाट्न चै केही दिन लाग्छ, भोलिदेखि केही क्षेत्रमा मौसमी अवस्थामा सुधार आउन सक्छ, कहीँ छिटफुट वर्षा हुन सक्छ’, पराजुलीले भने, ‘पूर्व झापादेखि पश्चिम कपिलवस्तुसम्म बढी प्रभाव रह्यो ।’

नेपालको पश्चिमी भेगदेखि मौसमी प्रणाली सुधार हुँदै आइरहेको उनको भनाइ छ । अहिलेको मौसमी प्रणाली अन्त्यसँगै नेपालबाट यसवर्षको मनसुन बाहिरिनेछ ।

शाखाले बंगालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव र मनसुन न्यून चापीय रेखा नेपाल र भारतको सीमामा अवस्थित रहनु नै अहिलेको मनसुनी वर्षाको मुख्य कारण भएको बाढी पूर्वानुमान शाखाले जनाएको छ । नेपालको सीमा जोडिएको भारतका धेरै भूभागमा समेत वर्षा भएका छन् ।

पछिल्ला तीन दिनमा मुलुकका विभिन्न स्थानमा अतिभारी, भारी र सामान्य वर्षा भएका छन् । समग्रतामा तीन सय मिलिमिटरभन्दा बढी वर्षा भएको शाखाको तथ्याङ्क छ । ‘कहीँ त्यो भन्दा बढी र कहीँ दुई सय मिलिमिटरसम्म वर्षा भएको छ’, प्रमुख पराजुलीले भने ।

चौबीस घन्टामा एक सय ४० मिलिमिटरभन्दा बढी वर्षा भएमा खतराको तह पार गरेको मानिन्छ । एक सय सात वटा वर्षा मापन केन्द्रमा खतराको तह नाघेको छ । यसपटक ७७ वटै जिल्लामा वर्षा भएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा खास वर्षा भएको छैन । बागमती, मधेस, लुम्बिनी र गण्डकी प्रदेशमा भारी वर्षा भएको छ ।साभार : अनलाइनखबर

Related posts

मानव बेचबिखन मुद्धामा पर्साका एसपी मिश्रको सकृयता : होटल, लज र नाकाबाट १३७ को उद्धार

MadhesKhabar

पर्सा,बारासहित मधेसका जिल्लामा अझै पाँच दिन तातो हावा चल्ने

MadhesKhabar

पर्साको शंकरसरैयाको बाँसघारीबाट गाँजासहित एक बृद्ध पक्राउ

MadhesKhabar

Leave a Comment