वीरगन्ज,०९मंसिरःपर्सा जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवाको कार्यसम्पादनमा ठोरी गाँउपालिका प्रथम भएको छ ।वीरगन्जमा आयोजित स्वास्थ्य कार्यालय पर्साको जिल्ला स्तरीय वार्षिक समिक्षा गोष्ठीमा गुणस्तरीय स्वास्थ्य सेवाको कार्य सम्पादनमा जिल्लाका १४ वटै पालिकामध्ये ठोरी गाँउपालिकाले प्रथम स्थान हासिल गरेको घोषणा गरिएको हो ।
गत आर्थिक वर्षमा स्वास्थ्य कार्यालय पर्सा मार्फत सञ्चालित कार्यक्रमहरुमा पालिकाका स्वास्थ्य शाखाले हासिल गरेका प्रगतिको समीक्षा र मुल्यांकन गर्दा ठोरी गाँउपालिकाले प्रथम स्थान हासिल गरेको जनस्वासथ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए । यस्तै जगरनाथपुर गाँउपालिकाले दोश्रो र सखुवा प्रसौनी गाँउपालिकाले तेस्रो स्थाान प्राप्त गरेको ठाकुरले जानकारी दिए ।
गोष्ठीको समापन कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर सन्जय ठाकुरले पहिलो,दोस्रो र तेसस्रो स्थान प्राप्त गर्न सफल पालिकाका स्वास्थ्य शाखा प्रमुखलाई प्रमाणपत्र प्रदान गर्दै सम्मानित गरे ।
त्यसअवसरमा सचिव डा. ठाकुरले कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिने हो र उनिहरुको हौसला बढाईदिने हो भने स्वत सुशासन कायम हुने बताए । यदि काम गर्ने वातावरण भएन र उनिहरुको मनोबल बढाउने काम भएन भने कर्मचारीको काम गर्ने जाँगर नै मर्ने भएकाले त्यसले कार्यसम्पादनको नतीजामा नकरात्मक प्रभाव देखिने उनले बताए ।
डा. ठाकुरले स्वास्थ्यकर्मीले समुदायमा भिजेर काम गर्नुपर्नेमा जोड दिदैं त्यसकै फलस्वरुप पर्सा स्वास्थ्य कार्यालय मधेसका आठ वटै जिल्लामा पहिलो हुन सफल भएकोपनि बताए । कार्यक्रममा मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयका सचिव राजिव झाले स्वस्थ्य कार्यालय पर्साको कार्यसम्पादन मधेस प्रदेशमै उत्कृष्ट रहेको बताए । यसलाई आगामी वर्षमापनि निरन्तरता दिन उनले आग्रह गरे ।
दुई दिने समिक्षा गोष्ठीमा पर्सा जिल्लामा स्वास्थ्यका क्षेत्रमा भएका प्रगतिको समिक्षा गर्दै आगामी आर्थिक वर्षका लागि स्वास्थ्यका क्षेत्रमा गरिने कार्यक्रमको योजना निर्माणमा समेत छलफल भएको जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए ।
जनस्वास्थ्य कार्यलय पर्साका प्रमुख डा. मुक्ति नारायण साहको अध्यक्षतामा भएको गोष्ठीमा जिल्लाका १४ वटै पालिकाका स्वास्थ्य शाखा प्रमुख,स्वास्थ्य क्षेत्रमा काम गरिरहेका गैरसरकारी संघसंघाका प्रतिनिधि लगायतको सहभागीता थियो । उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख पुरन कुर्मी, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल लगायतकोपनि उपस्थिति थियो ।