ललितपुर,२७भदौंःअवैध रूपमा कल सेन्टर चलाएर ठगी गरेको आरोपमा ललितपुरको ललितपुर महानगरपालिका वडा नम्बर १३ मा रहेको एक घरबाट ५० जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले अवैध कल सेन्टर चलाएको आरोपमा ३ जना चिनिँया नागरिकसहित ५० जना व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार एकान्तकुनामा रहेको एक घरमा सीआईबीको टोलीले छापा मारेको हो। ‘उक्त ठाउँमा अवैध रुपमा कल सेन्टर खोली ठगि भइरहेको छ भन्ने सूचना प्रहरीले पाएको थियो। विभिन्न प्रलोभनमा पारेर ठगी गर्ने काम भएको जानकारी आएपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो।’ उनले भने,‘पक्राउ परेकामध्ये ३ जना चिनियाँ नागरिक रहेका छन्।’उनीहरुले भाडामा घर लिएर उक्त काम गरेका थिए।
प्रहरी टोलीले उक्त कल सेन्टरबाट कम्युटर, ल्यापटप, विभिन्न कम्पनीका मोबाइल तथा कागजातपनि बरामद गरेको छ। उक्त कल सेन्टर चिनियाँ नागरिकले चलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। प्रहरीले क्रिप्टोकरेन्सी कारोबारविरुद्ध विशेष अपरेसन चलाइरहेको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।साभारः अन्नपूर्णपोष्ट

