वीरगन्ज,१२भदौंःपर्साको जीराभवानी गाउँपालिका वडा नम्बर २ सेढवामा रहेको डिप्रोस लघुवित्त वित्तीय संस्थाको कार्यालयमा तोडफोड गरिएको छ ।
मंगलबार दिउँसो महिलाहरूले संस्थाको कार्यालयमा पसेर उपकरण र फर्निचर तोडफोड गर्नुका साथै कागजपत्रहरू कार्यालय बाहिर निकाालेर फ्याँकिदिएका हुन् । लघुवित्त संघर्ष समिति पर्साका अध्यक्ष शिवजी साहको नेतृत्वमा गएका महिलाहरुले कार्यालयमा तोडफोड गरेका थिए । उक्त लघुवित्त वित्तीय संस्थाले बचतकर्ताहरुको रकम फिर्ता नगरेको आक्रोशमा संस्थाको कार्यालयमा महिलाहरुले तोडफोड गरेको बताइएको छ ।
महिलाहरुले कार्यालयमा रहेका ऋणसम्बन्धी कागजात, तमसुक, भरपाई जस्ता महत्त्वपूर्ण कागजातहरू कार्यालय कक्षबाट बाहिर फ्याँकेको र आर्थिक शाखाका उपकरणहरूमा पनि तोडफोड गरेको डिप्रोस लघुवित्तका शाखा प्रमुख प्रदीप चौधरीले बताए।
तोडफोडमा संलग्न दुई जना महिलाहरुलाई नियन्त्रणमा लिएर राखिएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले जानकारी दिए । घटनाका बारेमा अनुसन्धान भइरहेकोपनि उनले बताए ।

