काठमाडौं,११भदौंःराष्ट्रिय एकता अभियानले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ। अभियानले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पान्डेलाई ज्ञापन पत्र बुझाउँदै अधिकारीलाई बर्खास्त गर्न माग गरेको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको असफलता तथा निर्माणमा भएको भ्रष्टाचारमा अधिकारीको संलग्नता रहेको राष्ट्रिय एकता अभियानको ठहर छ । अधिकारीको नेतृत्वमा भएको अनियमितता र असक्षमताले देशको प्रतिष्ठित परियोजना गम्भीर संकटमा परेको भन्दै राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवको नेतृत्वमा गएको टोलीले मन्त्री पाण्डेलाई ज्ञापनपत्र बुझाएको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा ठूला भ्रष्टाचार र प्रविधिक त्रुटिहरू भएको आरोप लगाउँदै अभियानले विमानस्थल उद्घाटन भएको डेढ वर्ष बितिसक्दा पनि पूर्ण रूपमा संचालनमा आउन नसक्नुमा नागरिक उड्डयन प्राधिकरणको असक्षमता मुख्य कारक रहेको जनाएको छ ।
अधिकारी भ्रष्टाचारमा लिप्त भएको आरोपसमेत लगाउँदै अभियानले छानबिन प्रक्रिया पूरा नभएसम्म उनलाई कुनै पनि सरकारी पदमा राख्न प्रतिबन्ध लगाउनपनि माग गरेको छ।

