धनुषा,१६साउन : महोत्तरीमा बाढीले सडक बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । भारी वर्षाका कारण ढुंङ्ग्रे खोलामा आएको भीषण बाढीले महोत्तरीको बर्दिवासस्थित बेलगाछि पुलको पश्चिमतर्फको सडक बगाएको महोत्तरी प्रहरीले जनाएको छ ।
बाढीले बुधबार बिहान २ बजेतिर टुटेश्वर चोक नजिकैको बेलगाछि पुलको पश्चिमपट्टी करिब ५ फिट सडक बगाएको महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारले अन्नपूर्णलाई जानकारी दिए । अहिले पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको उनले बताए ।
प्रहरी नायव उपरीक्षक जैसवारका अनुसार तत्कालका लागि डाइभर्सन गरेर सवारी साधनलाई गन्तव्यतर्फ पुर्याउने काम भएको छ । ‘साना चारपाङ्ग्रेसम्मको सवारी साधनलाई माइस्थान चोकबाट गौशालाहुँदै लक्ष्मीनियाँ चोक निस्कने गरी डाइभर्सन गरिएको छ । ठूला मालबाहक सवारी साधनलाई गौशाला, कान्तिबजार हुँदै हुलाकी सडकमा जोड्ने डाइभर्सन सञ्चालन गरेका छौं,’प्रहरी नायव उपरीक्षक जैसवारले भने ।साभार:अन्नपूर्ण पाेष्ट