
काठमाडौं,६साउनःजनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संसद् बाहिर लेखनदासबाट लेखिएको र संसद्बाट पारित गरिएको संविधान संशोधन गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने क्रममा यादवले जनतालाई गोली बर्साएर जारी गरिएको संविधान पुनर्लेखन गर्नुपर्ने बताए ।
उनले भने– ‘संविधान संशोधनको सवाल अति महत्वपूर्ण सवाल हो । यो संविधान घोषणा भएको समयमा मेचीदेखि महाकालीसम्म जनताले कालो दिवस मनाएका थिए । जनतामाथि गोली बर्साएर जारी भएको संविधान हो । संविधान सभामा ३ सयभन्दा बढी संशोधनहरू प्रस्तुत भएका थिए । छलफल नै नगरी बाहिर लेखनदासहरूबाट लेखाएर संविधानसभाको माध्यमद्वारा घोषणा गरिएको संविधान हो । यो संविधानको पुनर्लेखन, संशोधन जरुरी छ ।’
उनले शासकीय स्वरूप, निर्वाचन प्रणाली, न्याय प्रणाली, प्रादेशिक संरचना र क्षेत्राधिकारहरू लगायतका विषयहरूमा संशोधनको आवश्यकता रहेको र संविधान संशोधनको प्रक्रिया अघि बढाउन माग गरे ।
यादवले दुई ठुला दल मिल्ने यो अन्तिम अवसर समेत रहेको बताए । मुलुकको राजनीतिक अवस्था डिलमा पुगिसकेको बताउँदै दुई ठुला दलको गठबन्धन सरकार असफल भए त्यसपछिका विकल्पहरू मुलुकका लागि कति दुःखद, पीडादायक हुने उल्लेख गर्दै उनले त्यस्तो अवस्थामा मुलुक ठुलो संकटतर्फ जाने उल्लेख गरे ।साभार : रातोपाटीबाट