काठमाडौं,१साउन:खानेपानी मन्त्री प्रदीप यादवले पदभार सम्हालेकाे दाेस्राे दिन मंगलबार मन्त्रालय मातहत निकायको सम्बन्धमा जानकारी लिएका छन्। मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री यादवले मातहतका निकायले गर्ने गतिविधि, हाल सञ्चालनमा रहेका कार्यक्रमहरू, कामहरूको प्रगति र आगामी कार्ययोजनाबारे जानकारी लिएका हुन्।
मन्त्री यादवले सबै नेपाली नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु आफ्नो मुख्य प्राथमिकता भएको बताए। उनले आधुनिक प्रविधिको प्रयोगद्वारा खानेपानी वितरण प्रणाली सुधार्ने र मन्त्रालयका कामकारबाहीलाई पारदर्शी तथा उत्तरदायी बनाउन आफू प्रतिबद्ध रहेको बताए।
मन्त्री यादवले मन्त्रालय मातहतका निकायलाई दीर्घकालीन र दिगो खानेपानी योजनाहरू विकास गर्न र कार्यान्वयनमा विशेष ध्यान दिन निर्देशन दिए।उनले प्रविधिको नवीनतम प्रयोगद्वारा खानेपानी वितरण प्रणालीलाई थप प्रभावकारी बनाउन आग्रह गरे।
मन्त्री यादवले सुरक्षित खानेपानीको महत्त्वबारे जनचेतना जगाउने विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न पनि निर्देशन दिदैं ग्रामीण तथा दुर्गम स्थानहरूमा विशेष प्राथमिकता दिने गरी कार्ययोजना बनाउन निर्देशन दिए ।
उनले अनुगमन र मूल्यांकन प्रणालीलाई बलियो बनाउँदै कार्यहरूको प्रभावकारिता मापन गर्ने प्रणालीको विकास गर्न पनि निर्देशन दिएकाे उनका स्वकीय सचिव निखिल बर्णवालले जानकारी गराए।

