चितवन,३०असार:नारायणी नदीमा आइतबार थप चारवटा शव फेला परेकाे जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालका अनुसार आइतबार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ गण्डक नहरमा दुई, पश्चिम नवलपरासीको सुस्तामा एक र भरतपुर महानगरपालिका २६ सिसुवामा एउटा शव फेला परेको हो ।आइतबार भेटिएका शवको सनाखत हुन बाँकी रहेको भुसालले बताए ।
यसअघि शनिबार पाँच वटा शव फेला परेको थियो ।शनिबार नारायणी नदी किनारका विभिन्न स्थानमा भेटिएका पाँचवटै शवको सनाखत भइसकेको छ ।
शुक्रबार बिहान करिब ३.३० बजेतिर नारायणगढ-मुग्लिन सडकखण्डकाे सिमलतामा लेदो सहितको पहिरोले वीरगन्जबाट काठमाडौं जाँदै गरेकाे एन्जल बस र काठमाडौंबाट गाैर आउँदै गरेकाे गणपति ट्राभलकाे बसलाई बगाएर त्रिशूली नदीमा पुर्याएको थियो ।करिब ६० जना यात्रु रहेको ती बसका ३ जना भने पौडिएर ज्यान जाेगाउन सफल भएका थिए ।शुक्रबार बिहानै देखि गाेताखाेरकाे टाेलीसहित सशस्त्र प्रहरी ,नेपाल प्रहरी र नेपाली सेना उद्दार तथा खाेजीमा निरन्तर खटिरहेकाे भएपनि अन्य यात्रु र दुवै बसको अवस्था पत्ता लाग्न सकेको छैन ।

