वीरगन्ज,८असार:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेश स्तरीय अभियान तथा प्रचार प्रसार विभागको प्रमुखमा वीरगन्जका वरिष्ठ पत्रकार राम कुमार सर्राफ नियुक्त भएका छन् ।
पर्साको मिर्जापुरमा शनिबार आयाेजित कार्यक्रममा रास्वपाका केन्द्रीय संगठन विभाग प्रमुख शंकर श्रेष्ठले सर्राफलाई पार्टीको मधेस प्रदेश स्तरीय अभियान तथा प्रचार प्रसार विभागको प्रमुखमा नियुक्त गरिएको पत्र हस्तान्तरण गरेका हुन् ।
नियुक्ति पत्रमा सर्राफलाई मधेस प्रदेश स्तरीय अभियान तथा प्रचार प्रसारको विभागीय प्रमुखको जिम्मेवारी सुम्पिएको उल्लेख छ । साथै पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागका नियमावली एवं कार्यविधि पालना गर्दै आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वासपनि व्यक्त गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सदस्यहरूको कार्यक्षमतामा विश्वास राख्दै विभिन्न विभागहरूमा नेतृत्वको जिम्मेवारी दिनेक्रममा सर्राफलाई विभागको प्रमुखमा नियुक्त गरिएको रास्वपा पर्सा जिल्लाका संयोजक हरि पन्तले बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले सर्राफलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै उनलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे । सर्राफले पनि आफूलाई दिइएको जिम्मेवारी कुशलतापूर्वक निभाउने प्रतिवद्धता व्यक्त गरे ।
सर्राफ वीरगन्जबाट सञ्चालित यात्राडेली डटकमका अध्यक्ष हुन् भने राष्ट्रिय फोटो पत्रकार महासङ्घका पूर्व मधेस प्रदेश प्रमुख पनि हुन् । विभिन्न सामाजिक गतिविधिमा समेत आबद्ध रहने सर्राफ सामुदायिक प्रहरी केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर-मुर्लीका अध्यक्षपनि हुन् ।

