काठमाडौं,२९जेष्ठःपर्सा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य(सांसद) अजय कुमार चौरसियाले पर्सा जिल्लामा केहिदिन पहिले विनाशकारी हावाहुरी र वर्षाबाट भएको क्षतिबाट पिडितहरुलाई राहत र क्षतिपूर्तिको माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद चौरसियाले पर्सा जिल्लामा हावाहुरी र वर्षाले धनजनको ठूलो क्षति पुर्याएकोभएपनि यस बारेमा संघ,प्रदेश र स्थानीय सरकारले ध्यान नदिएको गुनासो गरे । उनले हावाहुरीबाट प्रभावितहरुलाइ तत्काल राहत र क्षतिपुर्ति उपलब्ध गराउन सरकारसंग माग गरे ।
कांग्रेस नेतासमेत रहेका चौरसियाले भने, ‘गएको बुधबार राति १२ बजे कमसेकम डेढ सय किलोमिटरको स्पिडमा पर्सा जिल्लाको विभिन्न ठाउँहरूमा आँधी तुफान जस्तो अवस्था थियो । पानी र असिना पनि थियो । दर्जनौं गाउँको सयकडौं घरको छानो उडाएको छ । बालिनाली पनि नष्ट भएको छ । बगैंचाका रुख र बिजुलीको पोलहरू ढलेका छन् । बाटो अबद्ध भएका छन् ।देशमा तीन वटा सरकार छ । कुनै पनि सरकारले पीडितहरूलाई क्षतिपूर्ति र राहत दिने कार्य गरेएको छैन । पर्सामा राहत र क्षतिपूर्तिको व्यवस्था होस्।’
सांसद चौरसियाले मधेसमा ययसपालिको गर्मीमा फेरि खानेपानीका चापाकलहरु सुक्दै गएकोभएपनि सरकारले ध्यान नदिएको बताए । उनले भने,‘ स्थानीय तह र प्रदेश सरकार कानमा कपास हालेर सुतेको छ । केन्द्र सरकारले खानेपानीको स्रोत सुक्दै गएकोमा ध्यान दिनुपर्छ ।’