नयाँदिल्ली —भारतमा सातौं तथा अन्तिम चरणको लोकसभाको चुनाव आज (शनिबार) हुँदैछ । आजको मतदानसँगै लोकसभाका सबै ५ सय ४३ निर्वाचन क्षेत्रको मतदान पूरा हुनेछ ।
अप्रिल १९ मा पहिलो चरणको मतदान भएको थियो । त्यसयता चरणबद्ध मतदान भएर सातौं चरणको मतदान जुन १ मा हुन लागेको हो । भारतीय निर्वाचन आयोगका अनुसार अन्तिम चरणमा ८ राज्यका ५७ लोकसभा सिटका लागि चुनाव हुँदै छ । अन्तिम चरणमा पञ्जाब र हिमाचलका सबै लोकसभा क्षेत्रमा चुनाव हुन लागेको हो । त्यसबाहेक बिहारका ८, चण्डिगढका १, हिमाचलका ४, झारखण्डका ३ सिटमा चुनाव हुँदै छ । त्यस्तै, उडिसाका ६, पञ्जाबका १३, उत्तरप्रदेशका १३ र पश्चिम बंगालका ९ लोकसभा सिटमा चुनाव हुँदै छ । सबै क्षेत्रमा गरेर सातै चरणमा ९ सय ४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यस चरणमा प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्रमा पनि चुनाव हुँदै छ । उनको लोकसभा क्षेत्र वाराणसीमा मतदान हुन लागेको हो । कांग्रेसले मोदीको प्रतिस्पर्धामा अजय राजयलाई उतारेको छ । मोदी वाराणसी क्षेत्रबाट तेस्रो पटक चुनाव लड्दै छन् । गोरखपुर सिटमा भाजपा उम्मेदवार अभिनेता रवि किसन, हिमाचलको मण्डी सिटबाट अभिनेत्री कंगना रनावतको चुनावी फैसलाबारे मतदाताले आफ्नो निर्णय सुनाउने छन् ।

