
वीरगन्ज,११जेष्ठःपर्सामा चालु आर्थिक बर्षको १० महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परी ४२ जनाको मृत्यु भएको छ । यस्तै ५ सय ९२ जना घाइतेपनि भएका छन् ।
गत साउनदेखि बैशाख मसान्त सम्म १० महिनाको अवधिमा पर्सा जिल्लामा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर ४२ जनाको मृत्यु भएको हो । १० महिनामा ४ सय १२ सवारी दुर्घटना भएको र ती दुर्घटनामा ५ सय ९१ वटा सवारीसाधन परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षाक भाष्कर खतिवडाले जानकारी दिए । ती दुर्घटनामा परी ३६ जना पुरुष , ५ जना महिला र एक जना बालक गरी ४२ जनाको मृत्यु भएको उनले बताए । ती दुर्घटनामा ७० जना गम्भीर घाइते र ५ सय २२ जना सामान्य घाइते भएको उनले बताए ।
उक्त अवधिमा सबै भन्दा बढी ४ सय १५ वटा मोटरसाइकल दुर्घटनामा परेकोपनि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए । उक्त अवधिमै ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनका चालकलाई कारबाही गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालयले २ करोड भन्दा बढी राजश्व संकलन पनि गरेको छ ।
चालु आर्थिक बर्षको साउनदेखि बैशाखसम्म १० महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेकालाई कारबाही गरेर २ करोड १७ लाख १७ हजार ७५६ रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए । उनका अनुसार, उक्त अवधिमा ट्राफिक नियम उल्लंघन गरेका २१ हजार ३ सय ५६ सवारी साधन कारबाहीमा परेका हुन् ।

