वीरगन्ज,२५बैशाखः राष्ट्रिय एकता अभियानले महोत्तरीको मटिहानी–६ स्थित जरलहवा गाछीमा भएको भीषण आगलागीको घटनापछि मन्दिरको जग्गा अतिक्रमण गरिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । उसले यसबारेमा संघीय सरकारका भुमी सुधार मन्त्री बलराम अधिकारीलाई ज्ञापनपत्र पनि बुझाएको छ ।
उक्त ज्ञापनपत्रमा आगलागी पिडितलाई बासको व्यवस्थापन गर्ने बहानामा हिन्दु आस्थाको पवित्र स्थल लक्ष्मीनारायण मन्दिरको जग्गा गैर कानुनी रूपमा कब्जा गरिएको उल्लेख छ । अभियानका अध्यक्ष विनय यादवले मन्त्री अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘आगलागी पीडितलाई राहत दिने बहानामा मन्दिरको जग्गा अतिक्रमण गरिएको छ । गैरनेपाली नागरिकहरू उक्त ठाउँमा बसोबास गर्न थालेका छन्, जसले हाम्रो धार्मिक र ऐतिहासिक सम्पदालाई मात्र नभई आन्तरिक शान्ति, सुरक्षा र सामाजिक क्षेत्रमा पनि गम्भीर खतरा पैदा हुने संकेत गरेको छ ।
यस्ता गैर कानुनी अतिक्रमणले हिन्दूका धार्मिक स्थलहरूको पवित्रतालाई उल्लंघन गर्ने मात्र नभई न्याय, समानता र विधिको शासनको सिद्धान्तलाई पनि कमजोर बनाएको अध्यक्ष यादवले बताएका छन् । तसर्थ मन्दिरको उक्त जग्गामा देखिएको समस्या सम्बोधन गर्नको लागि तत्काल र निर्णायक कदम चाल्न मन्त्री अधिकारीसंग आग्रह गरिएको यादवले बताएका छन ।

