वीरगन्ज,२२बैशाखःवीरगन्ज महानगरपालिका वडा नम्बर ५ मा शनिबार माता तिर्थ औंशी अर्थात आामको मुख हेर्ने दिनको उपलक्ष्यमा ४ सय ५० जना आमाहरुलाई सम्मानित गरिएको छ । हरेक बर्ष झैं यस बर्षको माता तिर्थ औंशीका उपलक्ष्यमापनि वडा नम्बर ५ को वडा कार्यसमितिको कार्यालयले वडामा रहेका आमा बनेका महिलाहरुलाई सम्मानित गरेको हो ।
आमा समुहको सहकार्यमा आयोजित कार्यक्रमका प्रमुख अतिथी वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंह र वडाध्यक्ष प्रदीप चौरसियाले आमाहरुलाई सल ओढाउनुका साथै मिठाई र फलफूल प्रदान गर्दै सम्मानित गरेका हुन् । कार्यक्रममा बोल्दै मेयर सिंहले आमाकै कारण संसार देख्न पाइने भएकाले हरेकले आफना आमाको सम्मान गर्नु पर्नेमा जोड दिए । संसारमा आमाको तूलन कसैसंग गर्न नसकिने भन्दै उनले आमा–बुबाको सेवा भन्दा ठूलो धर्म र धाम कहिपनि नभएको बताए ।
वडाध्यक्ष चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई,आमा समुहकी अध्यक्ष जुली श्रेष्ठ ,महिला नेतृ अन्नपूर्णा सिंह, प्रेरणा श्रेष्ठ, वडा सदस्य मनोज साह लगायतकोपनि उपस्थिती थियो ।

