Madhes Khabar
स्थानिय हेडलाइन

नबिल बैंक चोरी प्रकरणको यथार्थ विवरण सार्वजनिक गर्न प्रहरीले किन गर्दैछ आलटाल ?

वीरगन्ज,२०बैशाखःबिहीबार बिहान ११.२६ बजे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले सञ्चारकर्मीको ह्वाट्सएप ग्रुपमा सन्देश पठाए– “वीरगन्जको नबिल बैंकमा भएको चोरी घटना सम्बन्धमा बिहीबार अपराह्न ४ बजे प्रहरीले पत्रकार सम्मेलन गर्दै छ । आइदिनु होला ।”

तर उक्त सन्देश पठाएको दुई घण्टा नबित्दै बिहीबार दिउँसो १ बजे तिर प्रहरी नायब उपरक्षिक थापाले फेरि अर्को सन्देश पठाउँदै पत्रकार सम्मेलन स्थगित गरिएको जानकारी दिए । “आजको पत्रकार सम्मेलन विशेष कारणले स्थगित गरिएको जानकारी गराएछु । अर्को सूचनाबाट पुनः जानकारी गराइने छ । असुविधाका लागि क्षमा प्रार्थी छु,” उनले पठाएको सन्देशमा लेखिएको थियो ।

प्रहरीका यी दुई सन्देश र गत आइतबारराति बैंकमा चोरीको घटना भएदेखि नै पर्साको प्रहरीले यस प्रकरणसम्बन्धी जानकारी सार्वजनिक गर्न आलटाल गर्दै आइरहेको छ ।

वीरगन्जको बाइपासमा रहेको नबिल बैंकको शाखाबाट आइतबार राति पाँच जना चोरको समूहले १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गरेर लगेको घटना सोमबार बिहान नै मिडियामार्फत बाहिरिइसकेको थियो । तर प्रहरीले उक्त घटनाको पुष्टि मंगलबार दिउँसो मात्र ग¥यो । त्यो पनि बैंकले मंगलबार प्रहरी कार्यालयमा लिखित जाहेरी दिएपछि मात्र । त्यसअघि सोमबार पटक–पटक बुझ्न खोज्दा पनि जानकारी दिन प्रहरी पन्छिँदै आएको थियो ।

बुधबार पुनः मिडियाका समाचारमा नेपाल प्रहरीले रौतहटबाट दुई नेपालीलाई र भारतबाट भारतीय प्रहरीले दुई भारतीयलाई नियन्त्रणमा लिएको खबर सार्वजनिक भएको थियो । त्यसपछि मात्र पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरक्षिक थापाले अनुसन्धानका लागि नेपाल प्रहरीले रौतहटबाट दुई जना नेपालीलाई नियन्त्रणमा लिएको पुष्टि गरेका थिए ।

बुधवार राति भारतका विभिन्न सञ्चारमाध्यममा नबिल बैंकको चोरीमा संलग्न तीन भारतीयलाई १८ लाख २३ हजार मात्र रकमसहित भारतीय प्रहरीले पक्राउ गरेको भिडियो सार्वजनिक भएपछि मात्र बिहीबार बिहान प्रहरी नायब उपरक्षिक थापाले बैंकको चोरी घटना बारे जानकारी दिन अपराह्न ४ बजे पत्रकार सम्मेलन गर्ने सन्देश सञ्चारकर्मीलाई पठाएका थिए । तर उक्त सन्देश पठाएको दुई घण्टा पनि नबित्दै प्रहरीको पत्रकार सम्मेलन स्थगित गरिएको खबरले पर्साको प्रहरी प्रति प्रश्न उठेको छ ।

अर्को तर्फ बैंकमा चोरी भएको घटनाले पर्सा प्रहरीको सुरक्षा व्यवस्था प्रति पनि ठूलो प्रश्न खडा गरेको छ । चोरहरूले रातारात बैंकबाट लुटेको पैसा भारत पु¥याएको देखिन्छ । मुख्य सडकमा रहेको बैंकबाट पैसा लुटेर बोरामा राखी चोरहरूले त्यसलाई भारतसम्म पु¥याउँदा समेत प्रहरीलाई यस विषयमा कुनै जानकारी नहुनुले पर्सा प्रहरीको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ ।

पत्रकार सम्मेलन अचानक किन स्थगित गरियो ? भन्ने प्रश्न गर्दा प्रहरी नायब उपरक्षिक थापाले भने, ‘चोरी भएको रकम भारतमा थोरै मात्रामा भेटिएको छ । अझ धेरै रकम फेला पर्न सक्ने सम्भावना देखिएकाले हालका लागि पत्रकार सम्मेलन स्थगित गरेका हौँ । हाम्रो र उताको प्रहरी चोरी भएकोमध्ये फेला पर्न नसकेको रकम खोज्नका लागि लागिपरेको छ । त्यो रकम भेटिएपछि हामी पत्रकार सम्मेलन गरेर सबै कुरा सार्वजनिक गर्छौ ।’

भारतमा तीन जना १८ लाख २३ हजार रकमसहित पक्राउ

वीरगन्जको नबिल बैंकमा भएको चोरीको घटनामा संलग्न रहेका तीन भारतीयलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।

सीमावर्ती भारतीय जिल्ला मोतिहारीमा बुधवार अबेर पत्रकार सम्मेलन गरेर मोतिहारीका प्रहरी उपरीक्षक (एसपी) कान्तेश कुमार मिश्रले चोरी गरिएको रकममध्ये १८ लाख २३ हजार २ सय नेपाली रुपैयाँसहित तीन भारतीयलाई बिहारको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको बताएका छन् ।

पक्राउ पर्नेमा बिहारको झरोखर थाना क्षेत्रका मन्टु कुमार, अर्जुन कुमार र दरपा थाना क्षेत्रकी सबिता देवी रहेको एसपी मिश्रले जानकारी दिएका छन् । भारतीय प्रहरीको हिरासतमा रहेका उनिहरुले भारतमा एक जना हुन्डी कारोबारीबाटपनि ४० लाख रुपैयाँ लुटेको र बिहार क्षेत्रमा भएका अन्य चोरीको घटनामा समेत आफ्नो संलग्नता रहेको स्वीकार गरेको मिश्रले जानकारी दिएका छन् ।

एसपी मिश्रका अनुसार नबिल बैंकमा चोरी भएको घटनापछि भारतमा पुगेका चोरहरूको खोजी गर्न नेपाल प्रहरीको आग्रहमा गठित भारतीय प्रहरीको टोलीले दरपा थाना क्षेत्रमा छापा मारेर सुरुमा १७ लाख २८ हजार २ सय नेपाली रुपैयाँसहित मन्टु र अर्जुनलाई पक्राउ गरेको थियो । उनीहरूसँग सोधपुछका क्रममा सुनितालाई पनि ९५ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको मिश्रले बताएका छन् ।

भारतीय प्रहरीले पक्राउ गरेका तीन जनाको साथबाट देशी कट्टा (नलकटुवा बन्दुक), केही थान गोली, लुटिएकोमध्ये १८ लाख २३ हजार २ सय रुपैयाँ, लुटपाटको रकमबाट खरिद गरिएको एउटा सुनको औँठी, मोटरसाइकल र केही थान मोबाइलसमेत बरामद गरिएको मिश्रले जानकारी दिएका छन् । उनीहरूलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको उनले बताएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय पर्साले पनि उक्त चोरीको घटनामा संलग्न रहेको आरोपमा गत मङ्गलवार रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ७ पथरा बुधरामबाट सञ्जय जयसवाल र छोटेलाल जयसवाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।.

Related posts

पर्साको फुलकवलमा नवनिर्मित प्रवेशद्वारको मन्त्री गुप्ताले गरे उद्घाटन

MadhesKhabar

ठोरीवासीको पिडा : १ सय ५० परिवारका लागि एउटा मात्रै धारा

MadhesKhabar

निजगढमा विमानस्थल बन्छ : नवनियुक्त पर्यटन मन्त्री किराँती

MadhesKhabar

Leave a Comment