Madhes Khabar
खेलकुद

एपिएफलाई हराउँदै पुलिस सिमरा गाेल्डकपकाे फाइनलमा

बारा,१बैशाख:नेपाल पुलिस क्लब बाराको सिमरा रंगशालामा जारी जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।शनिबार बेलुकी भएकाे सेमिफाइनल खेलमा अर्को विभागिय टोली सशस्त्र प्रहरीकाे एपिएफ फुटबल क्लबलाई शनिबार ३–२ ले हराउँदै पुलिस अन्तिम दुईमा पुगेको हो ।

पुलिसका आशिष राई, रामचन्द्र वाजे, सुजन मगरले गोल गरे । एपिएफका प्रदीप लामा र युवराज खड्काले गोल गरेका थिए ।

विभागीय डर्बीमा पुलिसले पहिलो मिनेटमै अग्रता बनाएको थियो । एपिएफ टोली सम्हालिन नपाउँदै खेल सुरु भएको ४७ सेकेण्डमै पुलिसका आशिषले गोल गरेका थिए । उज्वल राइको क्रसमा पेनाल्टी बक्स भित्रबाट आशिषको प्रहार गोलमा परिणत भएको थियो ।

खेलको २० औं मिनटमा एपिएफ २–० ले पछि पर्याे । रामचन्द्रले गोल गरेका थिए । उज्वलको क्रसमा रामचन्द्रले पेनाल्टी बक्स भित्रबाट गोल गरेका हुन् । निकै आकर्षक खेल प्रस्तुत गरेको एपिएफले ४२ औं मिनटमा प्रदिपले गोल गर्दै टोलीलाई खेलमा फर्काउन प्रयास गरे । बुद्धिमान राईको पासलाई पेनाल्टी बक्सबाट प्रदिपले गोल गरेका थिए ।

खेलको ६१ औं मिनटमा युवराजको गोल मार्फत एपिएफ खेलमा फर्कियो । प्रशिक्षक सुमन श्रेष्ठले युवराजलाई खेलको ३१ औं मिनटमा महेश लामाको ठाँउमा मैदानमा पठाएका थिए । युवराजले अनिश महर्जनको पासमा वन भर्सेस वनको स्थितीको गोल गरेका थिए ।

खेल सकिन २ मिनेट बाँकी रहँदा पुलिसका सुजन मगरले गोल गर्दै टोलीलाई जित दिलाएका थिए । सुजनले एपिएफका गोलरक्षक बिट गर्दै गोल गर्न सफल भए । पृथ्वी चौधरीको पासमा सुजनको पहिलो प्रहार एपिएफका गोलरक्षक एन्जल श्रेष्ठले बचाउको प्रयास गरेका थिए तर रिबाउण्ड बल खोस्दै सुजनले सुन्दर गोल गरे ।

इन्जुरी समयमा एपिएफ १० खेलाडीमा सिमित भयो । अन्तिम समयमा ३–२ को अवस्थामा परेपछि दबाबमा देखिएको एपिएफका विश्वास उदासले पुलिसका खेलाडीसंग विवाद गर्न थालेपछि रेफ्री उमेश बिडारीले उनलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।

दोश्रो पटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको पुलिसले अब उपाधिका लागि अर्को ‘ए’ डिभिजन क्लब मच्छिन्द्रसंग सोमबार प्रतिष्पर्धा गर्नेछ । पुलिस ९ बर्ष अघि प्रतियोगिताको छैठौं संस्करणको फाइनलमा अर्को विभागीय टोलि आर्मीसंग पराजित भएको थियो । पुलिसका रामचन्द्र वाजे प्लेयर अफ दी म्याच घोषित भए र उनले शुभारम्भ कलेज सिमराले प्रायोजन गरेको १० हजार रुपैयाँ र ट्रफि प्राप्त गरे ।

Related posts

आइपिएल: हैदराबादमाथि चेन्नईकाे जित

MadhesKhabar

पर्साकाे जानकीटोलामा आयाेजित नकआउट क्रिकेटकाे उपाधि बिहारकाे प्रिन्स-११ ले जित्याे

MadhesKhabar

नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालको लगातार दोस्रो जित

MadhesKhabar

Leave a Comment