Madhes Khabar
खेलकुद

सन्दिप लामिछानेले बनाए विश्व कीर्तिमान

काठमाडौं,८बैशाख : नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पीनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो एक सय विकेट लिने खेलाडीको विश्व कीर्तिमान बनाएका छन्।त्रिवि क्रिकेट मैदानमा जारी एसीसी मेन्स प्रिमियर कप अन्तर्गत शुक्रबार भएको ओमानविरुद्धको खेल एक विकेट लिएसँगै सन्दीपले इतिहास रचेका हुन्।

ओमानका लागि १३ रन बनाएका अदील शफिकलाई १३औं ओभरमा एलबीडब्लू आउट गरेसँगै सन्दीपले एक सय विकेटको कोशेढुङ्गा पार गरे।

सन्दीपले ४२औं एकदिवसीयमा एक सय विकेट पूरा गरेका हुन्। यसअघि यो कीर्तिमान अफगानिस्तानका बलर रसिद खानको नाममा थियो। रसिदले ४४ खेलमा एक सय विकेट लिएर कीर्तिमान राखेका थिए। सन् २०१५ मा जिम्बाब्वेको हरारेमा भएको वेस्ट इन्डिजविरुद्धको खेलमा रसिदले त्यो कीर्तिमान बनाएका थिए।तेस्रो स्थानमा अस्ट्रेलियन बलर मिचेल स्टार्क छन्। स्टार्कले सन् २०१० मा ५२ खेलमा १०० विकेटको कोशेढुङ्गा पार गरेका थिए।

सन्दीपले सन् २०१८ को अगस्ट १ मा नेदरल्यान्ड्सविरुद्ध नेपाली राष्ट्रिय टिमबाट एकदिवसीयमा डेब्यू गरेका थिए। नेदरल्यान्ड्सको आम्सटेलभिनस्थित भीआरए मैदानमा भएको त्यो खेलमा सन्दीपले १० ओभरमा ४२ रन खर्चिएर एक विकेट लिएका थिए।

सन्दीपको एकदिवसीयमा उत्कृष्ट बलिङ फिगर ६÷१६ को छ। त्रिवि क्रिकेट मैदानमै अमेरिकाविरुद्ध ६ ओभरमा १६ रन खर्चेर एक मेडनसहित सर्वाधिक ६ विकेट लिएका थिए।

सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रियमा तीन पटक पाँच विकेट लिएका छन्। सोमबार पीएनजीलाई ९ विकेटले हराउँदा सन्दीपले १० ओभरमा २५ रन खर्चेर पाँच विकेट लिएका थिए। त्यसअघि सन् २०२० को फेब्रुअरीमा अमेरिकाविरुद्ध ६ विकेट लिएका थिए।सन्दीपले पहिलो पटक सन् २०१८ मा केन्याविरुद्धको खेलमा पनि पाँच विकेट लिएका थिए। साभार : अन्नपूर्णपोष्ट

Related posts

विश्वकप क्रिकेटकाे उपाधीका लागि फाइनलमा अष्ट्रेलिया र भारत भिड्ने

MadhesKhabar

निजगढलाई हराउँदै वीरगन्ज फाइनलमा

MadhesKhabar

सन्दीपलाई थुनामा राख्नु नपर्ने सर्वोच्चको फैसला, विदेश जान अनुमति

MadhesKhabar

Leave a Comment