Madhes Khabar
मधेस प्रदेश

सर्लाहीका मेयर थापाले पाँच वर्षमा ५ करोड ३३ लाख अवैध सम्पत्ति जोडेको आरोप

काठमाडौं,२८चैतःअख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बाग्मती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मेयर थापाले पाँच वर्षमा ५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

दायर गरिएको मुद्दामा मेयर थापासँग ५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ बिगो दाबी गरिएको छ । मेयर थापाले स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।

थापाले मेयरको रूपमा सार्वजनिक सेवा प्रवेश गरेको २०७४ असोज ७ गतेदेखि २०७९ माघ २९ गतेसम्मको अवधिको अनुसन्धान हुँदा उक्त रकम गैरकानुनी रुपमा आर्जन गरेको पाइएको अख्तियारले जनाएको छ । अनुसन्धान गरिएको अवधिमा थापाको वैधानिक आय ७ करोड ८६ लाख ५० हजार २०१ रुपैयाँ रहेको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । त्यही जाँच अवधिमा उनको सम्पूर्ण व्यय (खर्च तथा लगानी) १३ करोड २० लाख तीन हजार ३९१ रुपैयाँ देखिएको अख्तियारले जनाएको छ ।

थापाको कुल वैधानिक आयलाई उनले गरेको कुल व्ययसँग तुलना गर्दा आयस्रोत र आर्जन गरेको सम्पत्तिबीच तादाम्यता देखिन नआई ५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ बराबरको सम्पत्ति ऋणात्मक देखिएको ठहर अख्तियारको छ ।

सार्वजनिक पद धारण गरेका वाग्मती नगरपालिकाका प्रमुख थापाले सार्वजनिक पदको दुरुपयोग गरी सो सम्पत्ति आर्जन गरेको ठहर अख्तियारको छ ।माओवादीका थापा यस कार्यकालका लागि पनि मेयर निर्वाचित भएका छन् ।

Related posts

मधेस : श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

MadhesKhabar

मधेसका मुख्यमन्त्री सिंह भन्छन् :पत्रकारिता अमर्यादित रूपले चलिरहेको छ,लगाम लगाउनुपर्छ

MadhesKhabar

बाराका प्रदेश सांसद साहद्धारा राजीनामा

MadhesKhabar

Leave a Comment