बारा,२७चैत:विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपुर्ण जीत निकाल्दै जीतपुरसिमरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राती सिमरा रङ्गशालामा भएको प्रतिष्पर्धात्मक खेलमा आर्मी विरुद्ध मच्छिन्द्रले १–० को संघर्षपुर्ण जित निकाल्दै सेमिफाइनलकाे यात्रा तय गरेको हो । मच्छिन्द्रको जीतमा खेलको ६९ औं मिनटमा शौरभ लिम्बुले एकमात्र निर्णायक गोल गरे । खेलको ६३ औं मिनटमा अभिषेक गुरुङको ठाउँमा मैदान प्रवेश गरेका लिम्बुले आर्मीका गोलरक्षक विकेश कुथुको गल्तीको फाइदा उठाउँदै सहजै गोल गरेका थिए ।
खेलको ८८ औं मिनटमा मच्छिन्द्रले अग्रता दोब्बर पार्ने मौका गुमायो । आर्मीका डिफेण्डर विमल पाण्डेले मच्छिन्द्रका विमल घर्तीमगरलाई डिबक्स भित्र लडाएपछि एन्फा रेफ्री उमेश बिडारीले मच्छिन्द्रलाई पेनाल्टीकाे मौका दिएका थिए । मच्छिन्द्रका देबेन्द्र तामाङको पेनाल्टी प्रहार क्रसबार माथी गयो । खेलको अन्तिम समयमा पाएको उक्त अवसर गुमाउँदा मच्छिन्द्रले अग्रता जोगाउन अन्तिम संघर्ष गर्नुपर्यो ।
खेलको म्यान अफ दि म्याच मच्छिन्द्र फुटबल क्लबका मनिष डाँगी घोषित भए । उनले १० हजार नगद सहित ट्रफि प्राप्त गरे । बारागढी गाउँपालिकाका अध्यक्ष अशोक जयसवाल र शुभारम्भ कलेजका निर्देशक अनिल चौधरीले म्यान अफ दि म्याचको पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा बुधबार आयोजक नवजनजागृति युवा क्लब सिमरा र नेपाल प्रहरीको विभागीय टोली नेपाल पुलिस क्लबकाबिच खेल हुनेछ ।

