Madhes Khabar
स्थानिय

सदस्यता विवाद टुंग्याएर मात्र पत्रकार महासंघको जिल्ला अधिवेशन गर्न प्रेस युनियन पर्साको माग

वीरगन्ज,२६चैतः नेपाल प्रेस युनियन पर्साले सदस्यता विवादको टुङ्गो नलागेसम्म नेपाल पत्रकार महासंघको जिल्ला अधिवेशनको मिति नतोक्न माग गरेको छ ।

सोमबार नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीलाई प्रेस युनियन पर्साका अध्यक्ष विजय महतोले ज्ञापनपत्र बुझाउँदै महासंघको सदस्यताको विवाद टुंग्याएरमात्र महासंघको जिल्ला अधिवेशनको मिति तोक्न माग गरेका हुन् ।

प्रेस युनियन पर्साले बुझाएको ज्ञापनपत्रमा भनिएको छ–‘पर्साबाट पत्रकार महासंघले सदस्यता शुद्धिकरण र नयाँ सदस्यताका लागि गरेको सिफारिस प्रति प्रेस युनियन लगायतका अन्य संघसंगठनले यसअघि नै विरोध जनाइसकेकोले सदस्यता सिफरिस नै विवादीत रहेको छ । तसर्थ सदस्यता सम्बन्धि उक्त विवाद टुंग्याएर सबै संघसंगठनको सहमतिमा मात्र जिल्ला अधिवेशनको मिति तोक्न प्रेस युनियन पर्साले माग गर्दछ ।’

प्रेस युनियनको यो माग र आग्रहलाई यदि अटेर गरेर पत्रकार महासंघ पर्साले जिल्ला अधिवेशनको मिति तोकेमा त्यसविरुद्ध प्रेस युनियन चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत प्रेस युनियन पर्साले दिएको छ ।

प्रेस युनियनका अध्यक्ष महतोका अनुसार, यहि माग राखेर प्रेस युनियन पर्सा शाखाले पत्रकार महासंघ मधेस प्रदेश समिति र केन्द्रिय कार्य समितिलाईपनि ज्ञापनपत्र बुझाइएको छ । ज्ञापनत्र बुझाउन गएको टोलीमा प्रेस युनियन पर्साका उपाध्यक्ष क्रान्ति शाह, सचिव इरफान अली,कोषाध्यक्ष कपिलदेव यादव, प्रदेश सदस्य उदय दास ,जिल्ला सदस्य सन्जय गुप्ता, राकेश चौरसिया लगायतको सहभागीता थियो ।

यसैबिच पत्रकार महासंघको मधेस प्रदेशका पर्सा, बारासहित ६ जिल्ला शाखाले भने नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिले सदस्यताको नामावली प्रकाशन नगरेसम्म जिल्ला अधिवेशन नगर्ने सामुहिक निणर्य गरेका छन् ।

पत्रकार महासंघ पर्सा, बारा ,सर्लाही,रौतहट,सप्तरी र सिरहा शाखाका अध्यक्षहरुले एक विज्ञप्ति जारी गर्दै जिल्ला शाखाले गरेको विधान अनुसार निणर्य बमोजिम शुद्धिकरण र नवीकरण तथा नयाँ सदस्यताको नामावली प्रकाशन नगरेसम्म जिल्ला अधिवेशन नगर्ने निर्णय गरेका हुन् ।

संयुक्त विज्ञप्तिमा पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारी , बारा अध्यक्ष रेशम तिवारी , सर्लाही अध्यक्ष टंक क्षेत्री , रौतहट अध्यक्ष प्रेमचन्द्र झा , सप्तरी अध्यक्ष श्रावण देव र सिरहा अध्यक्ष मनोज कुमार बनैताको हस्ताक्षर रहेको छ ।

Related posts

दिल्ली पब्लिक स्कुलकाे विद्यार्थी ओसार्ने बसमा रक्साैलबाट सामानकाे तस्करी

MadhesKhabar

बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।

MadhesKhabar

जेनजी पर्साले गृहमन्त्री अर्याललाई भेट्यो : जेनजी युवाहरुलाई धम्क्याउनेलाई कारबाही गर्न माग

MadhesKhabar

Leave a Comment