वीरगन्ज,२४चैत:वीरगन्जकाे तिलावेपुल नजिक शनिबार प्रहरीको कुटपिटबाट एक ई-रिक्सा चालक घाइते भएका छन् ।
प्रहरी चौकी बिन्दवासिनीमा कार्यरत प्रहरी जवान कौशल चौधरीको कुटपिटबाट पर्साको बहुदरमाई नगरपालिका – ८ रामनगरीका २८ वर्षीय ई रिक्सा चालक रञ्जन साह घाइते भएका हुन् ।प्रत्यक्षदर्शीका अनुसार साहले चलाएको ई-रिक्सा रोकेर प्रहरी जवान चौधरीले उनीमाथि कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जाल फेसबुकमा भाइरल भइरहेको छ ।
भिडियोमा ई-रिक्सा चालक साहको टाउकोबाट रगत खसी रहँदापनि प्रहरी जवान चौधरीले उनको कलर समातेर घिच्याउँदै लगेको देखिन्छ।सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई प्रहरीको दादागिरी भन्दै आलोचना गर्नुका साथै चाैधरीमाथि कारबाहीको मागपनि गरेका छन् ।
प्रत्यक्षदर्शीका अनुसार वीरगन्जतर्फ आइरहेको मधेस प्रदेश ०३-००२ ख १८२२ नम्बरको ई-रिक्सा तिलावे पुल नजिक ड्युटीमा खटिएका प्रहरी जवान चौधरीले रोक्नको लागि सिटी बजाएका थिए । प्रहरीको सिटी सुनेर पछाडि हेर्दा प्रहरी जवान चौधरी अर्कै तर्फ फर्केको हेरेर साहले ई-रिक्सा अगाडी बढाउन खोजेका थिए ।
त्यसपछि ड्युटीमा खटिएका प्रहरी जवान चौधरी पछाडिबाट आएको बसमा चढेर तिलावे पुल पारि पेट्रोल पम्प नजिक पुगेर ई-रिक्सालाई रोक्दै आफूले रोक्न भन्दा पनि किन नरोएको भनेर प्रश्न गरेका थिए।त्यही क्रममा चौधरीले साहमाथि हातपात गरेको स्थानीयको भनाई छ।घाइते ई-रिक्सा चालक साह उपचार पश्चात् अहिले घरमै स्वास्थ्य लाभ लिइरहेका छन् ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन विक्रम केसीले उक्त घटना बारे आफूले जिल्ला प्रहरी कार्यालयमा जाहेर गरिसकेको बत्ताउँदै सम्बन्धित प्रहरी जवान चाैधरीसंग स्पष्टीकरण सोधिने बताए।उनले गल्ती गरेको देखिए प्रहरी जवान चाैधरीलाई कारबाही हुने दाबी गरे ।

