वीरगन्ज,२८माघ:भारतलाई हराउँदै अष्ट्रेलियाले आईसिसी यु-१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ। दक्षिण अफ्रिकाको बेनोनीमा आईतबार राति सम्पन्न फाइनल खेलमा भारतलाई ७९ रनको फराकिलो अन्तरले अष्ट्रेलियाले उपाधि उचालेको हो ।
अष्ट्रेलियाले दिएको २५३ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा १७४ रनमै अलआउट भयाे । भारतका लागि ओपनर आदर्श सिंहले ७७ बल खेल्दै ४ चौका र १ छक्का सहित सर्वाधिक ४७ रन बनाए । यस्तै मुरुगन अभिषेकले ४६ बल खेल्दै ४२ रनको योगदान गरे । अन्य ब्याटरले सम्झन लायक प्रदर्शन गर्न सकेनन् ।
अष्ट्रेलियाका लागि माहली बियर्डम्यान र राफ म्याकमिलनले समान ३-३ विकेट लिए । यस्तै क्यालम भिल्डरले दुई विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनाएको थियो । अष्ट्रेलियाका लागि हर्जस सिंहले ६४ बल खेल्दै ३ चौका र ३ छक्का सहित सर्वाधिक ५५ रन बनाए । कप्तान ह्युग विबगेनले ६६ बल खेल्दै ५ चौकाको मद्दतमा ४८ रन जोडे ।
यस्तै ओलिभर पिकले ४३ बलमा ४६ रनको अविजित इनिङ खेले । ओपनर ह्यारी डिक्सनले ५६ बलमा ४२ रन बनाए ।
भारतका लागि राज लिम्बानीले १० ओभरमा ३८ रन खर्चिदै ३ विकेट लिएका थिए । यस्तै नमन तिवारीले दुई तथा सौमी पाण्डेले १-१ विकेट लिएका थिए ।
चौथो पटक च्याम्पियन बनेको अष्ट्रेलियाले यसअघि सन् १९८८, २००२ र २०१० मा उपाधि उचालेको थियो । अष्ट्रेलिया सन् २०१२ र २०१८ मा दोस्रो स्थानमा सिमित भएको थियो । ती दुवै पटक भारतले उपाधि उचालेको थियो । भारत भने पाँच पटकको विजेता रहेको छ ।