Madhes Khabar
खेलकुद हेडलाइन

वीरगन्ज गोल्डकपको उपाधिका लागि फाइनलमा आर्मी र पुलिस भिड्ने

वीरगन्ज,२३कार्तिक : वीरगन्जमा जारी प्रथम वीरगन्ज गोल्डकप फुटबलको उपाधीका लागि दुई विभागीय टोलीबिच भिडन्त हुने भएको छ ।शनिबार हुने फाइनल खेलमा नेपाल प्रहरीको नेपाल पुलिस क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब उपाधिका लागि भिड्ने भएका हुन् ।

आदर्शनगर रंगशालामा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा संकटा क्लब काठमाडौंलाई १–० ले हराएर फाइनलमा प्रवेश गरेको आर्मी क्लबले उपाधिका लागि पुलिससंगको भिडन्त पक्का गरेको हो ।पुलिस भने यसअघि बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक भेट्रान सिटी क्लब वीरगन्जलाई सडन डेथमा स्तब्ध पार्दै फाइनलको यात्रा तय गरिसकेको छ ।

बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा आर्मीका रिपु भ्लोनले खेलको २३औं मिनेट गरेको एकमात्र गोल नै निर्णायक बन्यो । भरत चौधरीले गरेको प्रहारमा रिपुले सुन्दर हेड गर्दै बललाई संकटाको जाली चुमाउन सफल भए ।

पहिलो हाफ १–० मा सकिएको खेलको दोश्रो हाफमा संकटाको अग्रपंक्तीले गोल गर्न बराबरी गोल फर्काउन पटक पटक प्रयास गरेपनि आर्मीको सशक्त रक्षापंक्तीले विफल पारिदिएको थियो ।

दोश्रो हाफमै आर्मीका खेलाडीले पनि टिमको जित अन्तर बढाउने अवसर पाएपनि सफल भने हुन सकेनन् ।खेलको ६८ औं मिनेटमा विकास तमांगले संकटाको डिबक्स एरिया बाहिरबाट प्रहार गरेको बल पोलमा लागेर फर्किएको थियो ।यस्तै खेलको ७१ औं मिनेटमापनि आर्मीका कप्तान नवयुग श्रेष्ठले डिबक्स नजिकैबाट गरेको प्रहार संकटाका गोलरक्षक युनिष चौधरीले उत्कृष्ट बचाउ गर्दै गोल हुनबाट जोगएका थिए ।

खेलको ७० औं मिनेटमा संकटाले आर्मीविरुद्ध बराबरी गोल फर्काउने सुन्दर मौका पाएको थियो ।तर सफल भने हुन सकेन ।आर्मीविरुद्ध पाएको कर्नर किकमा संकटाका विदेशी खेलाडी पेपे अडामाले गरेको हेड गोलपोष्ट बाहिर जाँदा संकटा बराबरी गोल फर्काउनबाट चुकेको थियो ।

आर्मीका लागि एकमात्र निर्णायक गोल गर्न सफल रिपु खेलको म्यान अफ दी म्याच घोषित भए । उनलाई नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीले १० हजार रुपैयाँको चेक प्रदान गरे ।प्रतियोगितामा शुक्रबार नेपाल र भारतका महिला फुटबल टिमबिच मैत्रीपूर्ण खेल हुने आयोजक क्लबका उपाध्यक्ष सागर राणाले जानकारी दिए ।

मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ । प्रतियोगितामा नेपालका ६ र भारतका दुई गरी कूल आठ टिम सहभागी छन्।

वीरगन्ज महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको उपाधि उपविजेता टिमले नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमले नगद ५ लाख ५५ हजाार ५ सय ५५ रुपैयाँका साथै शील्ड र मेडल प्राप्त गर्नेछन् ।

 

Related posts

पर्साकाे मुसहर बस्तीका बालबालिकालाई अमेरिकी संस्थाको सहयाेग

MadhesKhabar

वीरगन्जमा लामखुट्टेको प्रकोप बढेपछि विषादी छर्कने महानगरको तयारी, तपाईको वडामा कहिले ?

MadhesKhabar

वीरगन्ज हेल्थकेयर अस्पतालमा मुटुको अप्रेशनका लागि खुल्यो अत्याधुनिक क्याथल्याब

MadhesKhabar

Leave a Comment