वीरगन्ज,१५माघ :वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्ज संघीय सरकारको उपेक्षामा परेको गुनासो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग गरेका छन्।
सोमबार वीरगन्जमा प्रधानमन्त्री प्रचण्डसंग पर्सा–बाराका स्थानीय तहका प्रमुखहरुको संवाद कार्यक्रममा वीरगन्ज महानगरका मेयर सिंहले आर्थिक नगरी भनेर चिनिने वीरगन्ज महानगर भएपनि सरकारको उपेक्षामा परेको गुनासो गरे ।
उनले वीरगन्ज महानगरपालिका भएपनि महानगरको मापदण्ड अनुसारको न्यूनतम शहरी सुविधाबाट बञ्चित भएपनि यसतर्फ संघीय सरकारले ध्यान नदिएको बताए । प्रधानमन्त्री प्रचण्डलाई सुनाउँदै मेयर सिंहले भने,‘ वीरगन्जसंग विभेद गरिदिनु भएन ।काठमाडौं, भरतपुर, ललितपुर महानगरको जस्तै वीरगन्जलाईपनि सरकारले हेरिदिनु पर्यो।’
उनले सर्वोच्च अदालतमा वर्षौदेखि अड्किएको वीरगन्जको मुख्य सडक विस्तार सम्बन्धि मुद्धा छिट्टै टुङ्ग्याइ दिनपनि प्रधानमन्त्री प्रचण्डसंग आग्रह गरे ।‘सर्वोच्चमा वीरगन्जको मुख्य सडक विस्तारको मुद्धाको पेशी २३ औं पटक सरिसकेको छ । अब अर्को पेशी फागुनमा परेको छ । उक्त मुद्धाको किनारा लगाउन सरकारले पहल गरिदिनु पर्यो ।’ उनले भने ।
यस्तै देशकै दोश्रो ठूलो रंगशाला नारायणी रंगशालाको जीर्णेद्वार र विस्तारलाई राष्ट्रिय गौरबको योजनामा समावेश गरिदिनपनि प्रधानमन्त्री प्रचण्डसंग मेयर सिंहले माग गरे ।
मेयर सिंहले वीरगन्जका लागि केहि ठूला परियोजना सहितको योजना सरकारको आगामी नीति,कार्यक्रम तथा बजेटमा समावेश गर्न आग्रहसहितको पत्रपनि प्रधानमन्त्री प्रचण्डलाई बुझाए ।जसमा अबको १÷२ महिनामै फेरि वीरगन्जमा चापकाल सुक्ने समस्या दोहोरिने सम्भावना भएकाले खानेपानी समस्या समाधानका लागि आवश्यक संख्यामा ओभरहेड ट्यांकी निर्माणका लागि आगामी बजेटमा ब्यवस्थापन गरिदिन माग गरिएको छ ।
यस्तै वीरगन्ज १७ र १९ मा अतिक्रमण मुक्त बनाइएको करीब ३५ बिघा जग्गामा पर्यटकीय स्थलका रुपमा आधुनीक ताल निर्माणको प्रकृया अगाडि बढाइएकाले त्यसका लागि आवश्यक ५० करोड रुपैयाँको बजेट विनियोजन गरिदिनपनि मेयर सिंहको आग्रह छ । यस्तै वीरगन्जमा व्यवस्थीत ट्रान्सपोर्ट भिलेज निर्माणको लागिपनि आवश्यक बजेट विनियोजन गरिदिन आग्रह मेयर सिंहले गरेका छन्।
यस्तै वीरगन्जमा रहेको १३५ वर्ष पुरानो पुरातात्वीक तथा धार्मिक महत्व सहितको नृसिंह मन्दिर जिर्णोद्वार तथा सौन्दर्यकरणका लागि ३५ करोड , घण्टाघर छेउको खाली जग्गामा पार्क निर्माणका लागि ३९ करोड, सिर्सिया नदिको दुवैतर्फ तटबन्ध गरि १० किलोमिटरको कालोपत्रे सडक निर्माणका लागि ५० करोड , विन्दवासिनी मन्दिरको सौन्दर्यकरणका लागि १७ करोड रुपैयाँ सरकारको आगामी बजेटमा विनियोजन गरिदिनपनि मेयर सिंहले प्रधानमन्त्री प्रचण्डसंग आग्रह गरेका छन् ।
मेयर सिंहको आग्रहसहितको पत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले वीरगन्ज महानगरका लागि मेयर सिंहले लिखित रुपमा पेश गरेका माग सरकारको नयाँ बजेटमा सम्बोधन गर्ने आश्वासन दिए । उनले भने,‘ स्थानीय तहका मुद्धा र समस्या सम्बोधन गर्ने गरी नै नयाँ नीति, कार्यक्रम तथा बजेट सरकारले बनाउदैँछ ।’ त्यसैका लागि सरकारले अहिलेदेखि नै काम थालिसकेको पनि उनले जानकारी गराए । तीन तहका ससरकारबिच देखिको असन्तुलनलाई निराकरण हुने गरी नयाँ नीति , कार्यक्रम तथा बजेट ल्याउन सरकारले ध्यान केन्द्रित गरेकोपनि उनले बताए ।
उक्त संवाद कार्यक्रममा पर्साका १४ र बाराका १६ पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी, सुरक्षा निकायका प्रमुख लगायतको सहभागीता थियो ।

