जनकपुरधाम,२३पुष:राष्ट्रिय सभा सदस्यका लागि मधेस प्रदेशबाट पाँचजनाले उम्मेदवारी दर्ता गराएका छन्।
जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा सत्तारूढ गठबन्धन दल कांग्रेसबाट अन्यतर्फ आनन्द ढुंगाना र जसपाबाट महिलातर्फ पूजा चौधरीले उम्मेदवारी दर्ता गराएका हुन्।
त्यसैगरी, एमालेबाट अन्यतर्फ विजेता झा र महिलातर्फ उषादेवी थरुनीले मनोनयन दर्ता गराएका छन्।थरुनी पर्साकी हुन्। त्यसैगरी, जनमत पार्टीबाट रामशंकर महासेठले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका सूचना अधिकारी कृष्णकुमार राउतले जानकारी दिए।
एमालेले अन्यतर्फ अर्जुनसिंह राजपुतलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर, सिंह उम्मेदवारी दर्ता गराउन आउँदा मतदाता नामावलीमा नाम नभेटिएपछि उनको स्थानमा पार्टीले विजेता झालाई उम्मेदवार बनाएको छ।
मधेस प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या १०७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या २६७ गरी जम्मा ३७४ जना मतदाताले मतदान गर्नेछन्।
मधेस प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ५६७१ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ५०७३ गरी जम्मा १०७४४ मतभार कायम हुनेछ।

