Madhes Khabar
स्थानिय

जगरनाथपुरकाे शिक्षा शाखाका चौरसिया भ्रष्टाचारका १८ वटा मुद्दामा दोषी ठहर

काठमाडौं,२२पुष:पर्साको जगरनाथपुर गाउँपालिकाको शिक्षा शाखामा कार्यरत राजेश्वरप्रसाद चौरसिया भ्रष्टाचारका २० मध्ये १८ वटा मुद्दामा दोषी पाइएका छन्। चार वर्षअघि दायर मुद्दामा फैसला गर्दै विशेष अदालतले आइतबार उनलाई दुईवटा मुद्दामा सफाइ दिँदै बाँकी १८ वटा मुद्दामा कसुर कायम गरेको हो।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार तत्कालीन विद्यालय निरीक्षक तथा शिक्षा अधिकृत चौरसियालाई भ्रष्टाचारका सबै मुद्दामा ६-६ महिना कैद भएको हो। विशेष अदालतले घुस लिएबराबरको रकम बिगोसमेत कायम गरेको छ।

भ्रष्टाचारको एउटा मुद्दामा मतियार कायम गर्दै विशेष अदालतले नागेन्द्रप्रसाद पटेललाई तीन महिना कैद तथा ७३ हजार रुपैयाँभन्दा बढी जरिवाना गरेको हो।

श्री राम प्राथमिक विद्यालय पिपरडाढी, श्री नेपाल प्राथमिक विद्यालय दसाैता, श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय बिजबनिया, श्री रामजानकी प्राथमिक विद्यालय बिजबनिया, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसिहानी, श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पिपरीगुठी र श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पाण्डेपुरमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।

विद्यालय निरीक्षक चौरसियासमेत सम्बन्धित विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूमाथि मुद्दा दायर भएको थियो।

अख्तियारले अनुसन्धान गर्दै चौरसियाले आर्थिक लाभ लिई नक्कली कागजातहरूका आधारमा शिक्षकहरूलाई कामकाजमा लगाएका थिए। राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा भ्रष्टाचार गरेको अनुसन्धानले देखाएको थियो।

त्यसपछि २०७६ को असोज १ र ६ मा यी मुद्दा दायर भएका थिए। जसमाथि चार वर्षपछि न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनाराणसिंह राई र रितेन्द्र थापाको इजलासले आइतबार फैसला सुनाएको हो।

घुस लिएको भनी अन्य व्यक्तिहरूलाई पनि प्रतिवादी बनाइएकोमा आठजनाले सफाइ पाएका छन्। हाकिम अन्सारी, महेशप्रसाद यादव, नागेन्द्रमहरा चमार, अब्दुल्लाह राउत, महेशप्रसाद यादव, रामविलासप्रसाद पटेल र महेन्द्रप्रसाद यादवले भने सफाइ पाएका छन्। बाँकी सबैमाथि कसुर कायम भएको छ।साभार:नयाँपत्रिकाबाट

Related posts

ठाेरीमा बेवारिसे पुरुषकाे शव फेला

MadhesKhabar

अनर्गल प्रचार गरेर भ्रम फैलाउने दुष्प्रयास : वीरगन्ज महानगर

MadhesKhabar

वीरगन्जमा भइरहेको अघोषित लोडसेडिङ नहटाए आन्दोलनमा उत्रिने रास्वपाको चेतावनी

MadhesKhabar

Leave a Comment