वीरगन्ज,१८पुषः अमेरिकाबाट पार्सल गरी पठाइएको गाँजासहित तीन जना युवकलाई प्रहरीले बाराको कलैयाबाट पक्राउ गरेको छ ।मंगलबार दिउँसो विदेशबाट आएको लागूऔषध डेलिभरी हुँदैछ भन्ने विशेष सूचनाका आधारमा लागूऔषध ब्युरो वीरगन्ज र जिल्ला प्रहरी कार्यालय बाराको टोलीले कलैयास्थित जिल्ला हुलाक कार्यालय नजिकैबाट विदेशबाट आएको कार्टुनसहित ३ जनालाई पक्राउ गरेको हो।
कलैया उपमहानगरपालिका–१ मोतिबागस्थित जिल्ला हुलाक कार्यालय अगाडिबाट विदेशबाट आएको कार्टुनसहित वीरगन्ज महानगरपालिका वडा नम्बर १ सिसोबारी घर भएका २२ वर्षीय नैमोदिन मियाँ, २७ वर्षीय जितेन्द्र साह र २२ वर्षीय कृष्णा सर्राफलाई पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।
उनका अनुसार,विदेशबाट आएको कार्टुनमा पोपर्कन मिक्स ट्रियो लेखिएको रातो रंगको टिनको डब्बाभित्र तीन प्याकेट गाँजा, ओल्ड फेसन्ड ओट्स लेखिएको डब्बाभित्र एक प्याकेट गाँजा र क्युक ओट्स लेखिएको डब्बाभित्र एक प्याकेट गरी १ किलो १४६ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका तीन जनाविरुद्ध लागूऔषध कसुरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको न्यौपानेले जानकारी दिए ।

