
काठमाडौं, ८ पुष : काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा मधेस प्रदेशको टिम लगातार तेश्रो खेलमा पराजित भएको छ । किर्तिपुरमा आइतबार भएको खेलमा मधेस प्रदेश कोशी प्रदेशसंग ६० रनको फराकिलो अन्तरले हारेको हो ।
जीतका लागि १३० रनको लक्ष्य पछ्याएको मधेसले २० ओभरमा ९ विकेट गुमाएर ६९ रन मात्र बनाएपछि हार व्यहोरेको हो ।मधेसका लागि साना प्रविनले अविजित २७ रन र आरती महतोले १८ रन बनाइन् ।बलिङतर्फ कोशीका लागि सबनम राई र अलिशा खडियाले समान २/२ विकेट लिए ।
यसअघि पहिले व्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १२९ रन बनाएको थियो ।उसका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ५७ रन बनाइन् । बलिङतर्फ मधेस प्रदेशका लागि मिना महतोले २ तथा पुजा महतो र सरस्वती कुमारी चौधरीले समान १/१ विकेट लिए ।
जारी प्रतियोगितामा मधेसको यो लगातार तेस्रो हार हो । यसअघि मधेस एपीएफ र बागमतीसँगपनि पराजित भएको थियो ।

