बारा,५मंसिर:बाराको पचरौता नगरपालिका–७ बेनौली टोलमा मेला लगाउने विषयमा दुई पक्ष बिच सुरु भएको झडप नियन्त्रणमा लिन प्रहरीले ८ राउन्ड हवाई फायर गरेको छ।
पचरौता नगरपालिका–७ बेनौली टोलमा लगाइने ‘महाबिरी झण्डा मेला’ को विषयलाई लिएर सोमबार राती दुई पक्ष बिचको झडप रोक्न हवाइ फायर गर्नु परेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए।
गाउँमा लाग्ने मेलाको नेतृत्व कसले गर्ने भन्ने कुरामा विवाद भई दुई पक्ष बिच ढुङ्गामुढा हानाहान भएको थियो। सामान्य विवाद बल्झिएर झडपमा परिणत भएको थियाे।
वडा नम्बर–७ का वडाध्यक्ष बनारसी मुखिया बिन र अर्का जनमत पार्टीका स्थानीय नेता प्रभु पटेलको समूह बिच विवाद सुरु भई उग्र रूप लिएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए।
झडपमा परी स्थानीय लक्ष्मी पटेलको टाउकोमा गम्भीर चोट लागेको छ भने चण्डीका पटेलको खुट्टा भाँच्चिएको बारा प्रहरीले जनाएको छ।साभार:नागरिकबाट