वीरगन्ज,३० कार्तिकः छठ पूजाका लागि नेपालमै प्रसीद्ध वीरगन्जको घडीअर्वा पोखरी छठघाटको सुरक्षा प्रबन्ध बारे बिहीबार सरोकारवालाहरु बिच छलफल भएको छ ।
छठ पूजा व्यवस्थापन समिति अन्तर्गतको सुरक्षा उपसमितिले आयोजना गरेको बैठकमा समिति र जिल्लाका सुरक्षा निकायका प्रतिनिधीहरुबिच घडीअर्वा छठघाटमा पूजा र दर्शनका लागि आउनेहरुको सुरक्षा प्रबन्धलाई विगतको भन्दा अझ प्रभावकारी बनाउने विषयमा छलफल भयो। छठघाटमा पूजा र दर्शनका लागि आउने ब्रतालु र दर्शनार्थीहरुको सुरक्षा र सहजतका लागि नेपाल प्रहरी , सशस्त्र प्रहरी र समितिका स्वंयसेवक संयुक्त रुपमा परिचालन गर्ने सहमति भएको सुरक्षा उपसमितिका संयोजक मुन्ना साह कानुले जानकारी गराए ।
बैठकमा सहभागी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरक्षिक ध्रुब श्रेष्ठले जिल्लामा रहेका सबै टठ घाटको सुरक्षामा नेपाल प्रहरी परिचालन गरिने र त्यसमापनि घडीअर्वा छठ घाटको सुरक्षा उच्च प्राथमिकतामा रहेको बताए । उनले सशस्त्र प्रहरी र समितिका स्वर्यसेवकहरुसंगको सहकार्यमा नेपाल प्रहरीले छठघाटको सुरक्षा प्रबन्ध मिलाउने बताए । यस्तै उनले सादा पोशाकमापनि सुरक्षाकर्मी परिचालन गरिने बताए ।
यस्तै बैठकमा सहभागी पर्साका सशस्त्र प्रहरी नायब उपरक्षिक संगम श्रेष्ठलेपनि छठघाटको सुरक्षामा सशस्त्र प्रहरीले कुनै कसर बाँकी नराख्ने बताए ।
बैठकमा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष दिलिप साह कानुले सम्भावित दुर्घटनालाइ मध्यनजर गरि छठघाट परिसर बाहिर एम्बुलेन्स, बारुण यन्त्र र प्राथमिक उपचार शिविर राख्नुका साथै छठघाट परिसरमा एक दर्जन सिसिटिभी क्यामेरा जडान समेत गरिने बताए । छठघाटको सुरक्षामा समितिले सुरक्षाकर्मीहरुसंगको समन्वय गर्नका लागि बैठक बोलाएर छलफल गरिएको उनले बताए ।उनले घडीअर्वा स्पोटर्स क्लबका तर्फबाटपनि स्वंयसेवकहरु परिचालन गरिने बताए ।
सुरक्षा उपसमितिका संयोजक मुन्ना साह कानुको अध्यक्षतामा भएको बैठकमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भास्कर खतिवडा , वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरिक्षक पुस्कर बोगटी, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधी गौरी शंकर गुप्ता , वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशिल साह कानु, घडीअर्वा छठपूजा व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु राजेन्द्र प्रसाद गुप्ता, प्रमानन्द साह कानु, रामनगीना साह कानु , मदन प्रसाद गुप्ता, बाल्मिकी साह , हिरा साह कानु , प्रेम साह कानु लगायतकोपनि सहभागीता रहेको समितिका सचिव लखन साह कानुले जानकारी दिए ।

