वीरगन्ज,२३कार्तिक : बारामा व्याक्ति हत्याको योजना बनाउदैं गरेको अवस्थामा रिभाल्ब र पेस्तोलसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ भगवानपुरस्थित एक घरमा बिहीबार बिहान बसेर व्याक्ति हत्याको योजना बनाउँदै गरेको अवस्थामा प्रहरीले हतियार सहित पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ भगवानपुरका ६२ वर्षिय रुपलाल पटेलका , उनका छोराहरु ४० वर्षिय उपेन्द्र पटेल र २७ वर्षिय धिरेन्द्र पटेल, उपेन्द्रका साला रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर २ का ४४ वर्षिय राजमंगल पटेल र ससुरा ८० वर्षिय सोभा राउत रहेका छन् । उनिहरुको साथबाट अत्याधुनिक रिभाल्वर १ थान, त्यसमा लाग्ने गोली ७ राउण्ड, नलकटुवा पेस्तोल १ थान , त्यसमा लाग्ने गोली १ राउण्ड र केएफ १२ लेखिएको गोली २ राउण्ड बरामद गरिएको बाराका प्रहरी उपरक्षिक सुरेश काफलेले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतका अनुसार , उपेन्द्रले गाँउकै एक व्याक्तिको गोली हानेर हत्या गर्नका लागि बिहीबार बिहान आफनै घरमा केहि मान्छेहरु बोलाएर योजना बनाइरहेको गोप्य सूचना प्रहरीलाई प्राप्त भएको थियो ।त्यहि सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक रविभुषण यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले उपेन्द्रको घरमा बिहिबार बिहान ८ बजेतिर छापा मारेको थियो ।त्यसक्रममा उपेन्द्रको घरभित्र हत्याको योजना बनाएर बसेकै अवस्थामा उपेन्द्रसहित पाँच जना पक्राउ परेका हुन् ।
उपेन्द्रको घरबाट कालो रंगको प्लाष्टिकको झोलाभित्र सेतो कपडाले बेरेर राखिएको अवस्थमा ती हतियार र गोली बरामदपनि भएको प्रहरी उपरक्षिक काफलेले बताए ।हतियार र गोलीसहित पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक काफलेले जानकारी दिए ।

