वीरगन्ज,२०कार्तिक :नेपाल पुलिस क्लब,वीरगन्ज गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।आदर्शनगर रंगशालामा सोमबार भएको खेलमा भारत कोलकताको क्लाइभ हाउस डमडम फुटबल क्लबलाई ७–१ गोलको फराकिलो अन्तरले पुलिस क्लबले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
पुलिसका लागि प्रताप गुरुंगले ह्याट्रिकसहित एक्लैले पाँच गोल गरे ।यस्तै विवेक सन्तोषी र प्रवीण थापाले एक एक गोल गरे । कोलकताका लागि एक मात्र सान्तवना गोल अरमान मुन्सीले गरे ।
खेलको पूरा अवधीभर कोलकतामाथि हाबी भएको पुलिसका लागि खेल सुरु भएको २३ औं मिनेटमा प्रवीण थापाले दिएको पासलाई सदुपयोग गर्दै प्रताप गुरुंगले पहिलो गोल गरेका थिए । ३१ औं मिनेटमा प्रतापले फेरि अर्को गोल थप्दै पुलिसको अग्रता दोब्बर पारे । ३३ औं मिनेटमा तेश्रो गोल गर्दै प्रतापले ह्याट्रक पुरा गरे ।
३५ औं मिनेटमा विवेक सन्तोषीले कोलताका गोल रक्षक राहुल भट्टाचार्यलाई विट गर्दै बललाई जाली चुमाउँदै पुलिसको अग्रता ४–० मा पुरयाएका थिए ।४५औं मिनेटमा पुलिसका लागि फेरि अर्को गोल थपेपछि पहिलो हाफको खेल ५–० मा सकिएको थियो ।
पुलिसले दोश्रो हाफको खेलमा थप दुई गोल गरेको थियो । खेलको ६१ र ६३ औं मिनेटमा प्रतापले थप दुई गोल गरे व्याक्तिगत गोलको संख्या पाँच पुरयाउन सफल भएका थिए।
खेलको ८३ औं मिनेटमा पुलिसको डि–बक्स एरियाभित्र पुलिसका खेलाडी विपक्षी खेलाडीलाई लडाएपछि कोलकताले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई सदुपयोग गर्दै अरमान मुन्सीले गोल गरेर आफनो टिमका लागि सान्तवना गोल दिलाए ।
ह्याट्रिकसहित एक्लैले पाँच गोल गोल गर्न सफल पुलिसका प्रताप म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कारपनि हात पारे ।
अब फाइनल प्रवेशका लागि पुलिसले बुधबार हुने पहिलो सेमिफाइनल खेलमा आयोजक भेट्रान सिटी क्लब वीरगन्जसंग प्रतिस्पर्धा गर्नेछ ।यसअघि शनिबार भएको उद्घाटन खेलमा भारत दिल्लीको गढ्वाल डायमण्ड एफ.सी.लाई टाइबेकरमा ३–१ ले हराउँदै आयोजक वीरगन्ज सेमिफाइनलमा पुगिसकेको छ ।
प्रतियोगितामा मंगलबारको खेल त्रिभुवन आर्मी क्लब र झापा एफ.सी. बिच हुने आयोजक क्लबका महासचिव पंकज श्रेष्ठले जानकारी दिए ।
मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ । प्रतियोगितामा नेपालका ६ र भारतका दुई गरी कूल आठ टिम सहभागी छन्।
वीरगन्ज महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको उपाधि उपविजेता टिमलाई नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमलाई नगद ५ लाख ५५ हजाार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले जानकारी दिए ।

