वीरगन्ज,१८असाेज: ओपनर डेभन कन्वे र तेस्रो नम्बरका ब्याटर रचिन रविन्द्रको उत्कृष्ट शतकमा न्युजिल्यान्डले आइसिसी विश्वकप क्रिकेटमा सानदार विजयी सुरुवात गरेकाे छ ।
भारतकाे अहमदावादस्थित नरेन्द्र माेदी क्रिकेट स्टेडियममा बिहीबार बेलुकी भएकाे प्रतियोगिताको उद्धघाटन खेलमा साविक विजेता इंग्ल्यान्डमाथि न्युजिल्यान्डले ९ विकेटको सानदार जित हात पारेको हाे । जितको लागि २ सय ८३ रनको विजयी लक्ष्य न्युजिल्यान्डले ३६.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
न्युजिल्यान्डको जितमा डेभन कन्वे १ सय २१ बलमा १९ चौका र ३ छक्कासहित १ सय ५२ रनमा अविजित रहे ।
अर्का युवा अलराउन्डर रचिन रविन्द्र ९६ बलमा ११ चौका र ५ छक्कासहित १ सय २३ रनमा नट आउट भए । रविन्द्रको यो पहिलो शतक हो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८२ रन बनाएको थियो । उक्त योगफल जितको लागि पर्याप्त हुन सकेन । इंग्ल्यान्डका शीर्षक्रमका ब्याटर जो रुटले ८६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ७७ रनको योगदान दिएका थिए । कप्तान जस बटलर ४२ बलमा २ चौका र २ छक्कासहित ४३ रनमा आउट भए ।
इंग्ल्यान्डले अव मंगलबार बंगलादेशसँग धर्मशालामा खेल्नेछ । न्युजिल्यान्डले दोस्रो खेल सोमबार नेदरल्यान्ड्ससँग हैदराबादमा खेल्नेछ ।प्रतियोगिताको दाेस्राे दिन शुक्रबार नेदरल्यान्ड्स र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ

